गाउँ सहर

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।

अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो बताएका हुन् ।

‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भिर हुनुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपतिको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।

त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए । कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।

अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए ।

दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताएका थिए ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए ।

दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए ।

कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए ।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्चविकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत