दृष्‍टिकोण

बुद्ध, धर्म र संघको गहनतम अर्थ

बुद्ध, धर्म र संघको गहनतम अर्थमाथि विचार गर्दा हामी पाउनेछौं – धर्मको गहनतम अर्थ निरोध सत्य अर्थात् हाम्रो भ्रमको यथार्थ निरोध हो, र हाम्रो चित्तको निरन्तरतामा मार्ग सत्य अर्थात् चित्तको यथार्थ मार्गको यथार्थ बोध हो। यही वास्तविक धर्म हो। यदि हामीले आफ्नो चित्तको निरन्तरतामा यो स्थिति हासिल गर्न सक्यौं भने यसैले हामीलाई दुःखबाट बचाउनेछ। हामी त्यस्तो अवस्थामा पुग्न सक्छौं जुन भ्रम, नकारात्मक आवेग, दृष्टिकोण, र समस्याहरूबाट मुक्त हुन्छ र हाम्रो बोधि पूर्ण हुनेछ। बुद्ध ती हुन् जसले यो अवस्था पूर्णतः प्राप्त गरेर हामीलाई पनि त्यो अवस्था कसरी प्राप्त गर्ने भन्ने शिक्षा दिन्छन्। संघको अर्थ वास्तवमा त्यस्तो “आर्य संघ” हो जसमा धेरै उच्च सिद्धि प्राप्त गरेका साधकहरू हुन्छन्। उनीहरूले पूर्णरूपमा त होइन तर केही हदसम्म दुःखको यथार्थ निरोध (निरोध सत्य) को अवस्था प्राप्त गरिसकेका हुन्छन्।

वस्तुतः भ्रमका अनेक स्तर र दशाहरू हुन्छन्, जसबाट हामीले मुक्ति प्राप्त गर्नुपर्छ। साथै बोधिका पनि अनेक स्तर हुन्छन्, प्रत्येक स्तर त्यसको पूर्ववर्ती स्तरभन्दा उच्च कोटीको हुन्छ। बोधि प्राप्त भएपछि भ्रमको निवारण हुन्छ, तर यो पनि विभिन्न स्तरहरूमा घटित हुँदै जान्छ। आर्य संघले अझै भ्रमबाट पूर्णतः मुक्ति प्राप्त गरिसकेको हुँदैन। तर उनीहरू पूर्ण मुक्तिको दिशामा प्रगतिरत हुन्छन्।

हाम्रो दैनिक जीवनमा बुद्धहरू र आर्य संघ (जस्तै, विगतका र वर्तमानका भारतीय तथा तिब्बती आचार्यहरू) बाट हामीलाई धेरै प्रेरणा प्राप्त हुन्छ। यसबाट हामीभित्र ठूलो आशा जागृत हुन्छ। हामीलाई परम पूजनीय दलाई लामाजस्ता प्रेरणादायी व्यक्तित्वसँग भेट गर्ने वा उहाँको बारेमा जान्ने अवसर मिलेको छ। सोचौं, उहाँ जस्तो हुनुहुन्छ, त्यस्तो कसरी हुनुभयो होला? अवश्य पनि, धर्मको माध्यमले। उहाँ बुद्ध भैसक्नु भयो कि हुन बाँकी नै छ, त्यो धेरै ठूलो कुरा भएन। यदि हामी उहाँ जत्तिकै बन्न सक्यौं भने त्यो चाहिँ धेरै ठूलो कुरा हुनेछ। म उहाँको यो योग्यताको कुरा गर्दै छुइन कि उहाँ धर्म सम्बन्धी कुनै पनि विषयको शिक्षा दिन सक्नु हुन्छ, वा उहाँ विशेषज्ञ हुनुहुन्छ, अथवा सबैभन्दा ज्ञानवान हुनुहुन्छ, वा अरु सबै शिक्षकभन्दा ज्यादा निपुण हुनुहुन्छ। उहाँको कार्यक्रम ज्यादै व्यस्त हुन्छ, र उहाँ लगातार विश्वभर यात्रा गरिरहनु हुन्छ, अरुलाई शिक्षा दिनुहुन्छ, सहायता गर्ने प्रयत्न गर्नुहुन्छ, आदि। कुरा त्यत्ति मात्र होइन। उहाँलाई चीनमा सबैभन्दा प्रमुख जनशत्रु ठानिन्छ। कल्पना गरौं, एक अरबभन्दा बढी मानिसले तपाईंलाई शैतान ठान्छन् र तपाईंको समुदायमाथि हर प्रकारले दुर्व्यवहार गर्छन्, तैपनि तपाईं आफ्नो मनमा उनीहरूप्रति प्रेम र करुणाको भाव राख्नुहुन्छ। त्यो अवस्था कसरी सम्भव होला? उहाँ दुःखी हुनुहुन्न, बरु सुखी तथा शान्त चित्तले आफ्ना सबै कार्य गर्नुहुन्छ। हाम्रा लागि यो विश्वास गर्न नसकिने कुरा हो, होइन त? यदि हामी नकारात्मक आवेगहरूबाट मुक्त छैनौं र बोधि प्राप्त गरेका छैनौं भने के यो अवस्था सम्भव हुन सक्ला? पक्कै पनि हुँदैन। त्यसैले उहाँले बुद्धत्व प्राप्त गर्नु भएको छ कि छैन, त्यो प्रश्न अप्रासंगिक हो।

हुन सक्छ हामी बुद्धका सबै गुणहरूलाई बुझ्न नसकौंला। तर हामी कम से कम परम पूजनीय दलाई लामाजस्ता व्यक्तित्त्वका गुणहरू त अवश्य पनि देख्न सक्छौं। यो हाम्रा लागि एकदमै प्रेरणादायी कुरा हो। यदि उहाँ जस्तो कुनै व्यक्तिका लागि त्यो स्तरको उपलब्धि हासिल गर्न सम्भव हुन्छ भने हामीले पनि ती गुणको विकास गर्न नसक्ने कुनै कारण छैन किनकि हामी सबैको चित्त विशुद्ध स्वभावको र पूर्ण क्षमतायुक्त छ। कोही पनि मानिसले त्यो अवस्था प्राप्त गर्न नसक्ने हुँदैन। तर अवश्य पनि त्यसका लागि ज्यादै कठिन परिश्रम चाहिन्छ। तर त्यो सम्भव छ र त्यस दिशामा अगाडि बढ्नु धेरै लाभकारी हुन्छ। यदि दलाई लामालाई बुद्धजस्तै ठान्ने हो भने वर्तमान समयका ती उच्च लामाहरू जो शिक्षा दिन्छन्, उनीहरू पनि संघजस्तै हुन्। उनीहरूमा संभवतः दलाई लामाका सबै गुण नहोलान्, तर केही गुण अवश्य छन्। यो कुराले पनि हामीलाई धेरै प्रेरणा दिन्छ।

दलाई लामा र अन्य महान लामाहरूबीच के समानता छ? उनीहरू सबैले रिस, लोभ, घृणा, ईर्ष्या, आदि सबै नकारात्मक आवेगहरूबाट कुनै न कुनै हदसम्म मुक्ति पाइसकेका छन्। उनीहरूले ज्ञान, करुणा, धैर्य आदि असल गुणहरू धेरै हदसम्म विकसित गरिसकेका छन्। यी गुणहरूलाई अलग–अलग स्तरमा कसरी विकसित गर्न सकिन्छ भन्ने कुरा हामी यी विभिन्न लामाहरूलाई देखेर थाहा पाउँछौं। उनीहरूलाई देखेर जान्नु भनेको बुद्ध या मिलारेपा या यस्तै अन्य कुनै ऐतिहासिक व्यक्तित्वको तुलनामा सहज हुन्छ। ऐतिहासिक व्यक्तित्वलाई जान्नु हाम्रा लागि अपेक्षाकृत कठिन हुन्छ। तर यदि हामीलाई सान्निध्यको मौका मिल्छ भने यी जीवित गुरुहरू हाम्रा लागि जीवन्त उदाहरण हुन्छन्।

पुराना प्रचलित कथाहरू राम्रा त हुन्छन्, तर के हामी ती व्यक्तित्वहरू साँच्चिकै त्यस्तै होलान् भनेर विश्वास गर्न सक्छौं? हामी पढ्छौं कि गुरु रिन्पोछेको जन्म एक कमलको फूलबाट भएको थियो। तर के हामी साँच्चिकै यसलाई पत्याउन सक्छौं? यो कुरा बुझ्न कठिन हुन सक्छ। तर त्यसो नगरी हामी उहाँहरूमा नकारात्मक गुणहरूको अभाव र सकारात्मक गुणहरूको प्रचुरता रहेको कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सक्छौं।  यसको उदाहरण दलाई लामा र अन्य महान लामाहरूले प्रस्तुत गरेका छन्। उनीहरू वर्तमान समयमा हाम्रा लागि बुद्ध र धर्म जत्तिकै छन्। उनीहरूका कारण हामीलाई विश्वास हुन्छ कि हामी पनि त्यो अवस्था प्राप्त गर्न सक्षम छौं। यथार्थ निरोध (निरोध सत्य) र चित्तको यथार्थ मार्ग (मार्ग सत्य) त्यस्ता लक्ष्य हुन् जसलाई प्राप्त गर्न सकिन्छ। यो नै धर्म हो। यो लक्ष्य सम्भव छ, र यसको प्रयत्नले हामीलाई एक सुरक्षित, स्थिर र सार्थक दिशा प्राप्त हुन्छ जसलाई हामी आफ्नो जीवनमा उतार्न सक्छौं। (साभार-स्टडी बुद्धिज्म)

तपाईँको मत