अदालतको आदेश बावजूद पनि शिक्षकको प्रदर्शन नरोकिने
- गाउँ सहर संवाददाता
- १२ बैशाख शुक्रबार, २०८२ | ०७:०८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन नरोकिने भएको छ। बिहीबार काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले आदेश जारी गरे पनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहेको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’’ उनले अदालतको प्रशंग उल्लेख नगरी आन्दोलन जारी रहने बताएका हुन्।
बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै शिक्षकलाई तीन दिनभित्र विद्यालयमा फर्किन आदेश दिएको थियो।
‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ।
शिक्षकहरू २४ दिनदेखि आन्दोलित हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन अझै सुरू भएको छैन। यस्तो अवस्थामा अधिवक्ता श्रवणकुमार चौधरीले रिट दायर गरेका थिए। शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्यौल बनाएको उनको जिकिर थियो।
चौधरीले सर्वोच्चसँग विद्यार्थीलाई पढ्ने वातावरणका लागि अन्तरिम आदेश दिन पनि भनेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतका विभिन्न ६ निकाय र संगठनलाई प्रतिवादी बनाउँदै हालेको रिटमा चौधरीकै मागअनुसार विद्यालय खोल्ने गरी सर्वोच्चले आदेश दिएको हो। तर शिक्षकले यो आन्दोलन शिक्षा ऐन जारी नभएसम्म नछोड्ने प्रष्ट पार्दै आएका छन्।
अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ। सदा झैं ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नुहोला।’
यस्ताे छ उनकाे आव्हान
आदरणीय साथीहरु,
हिजो ११ गतेको कार्यक्रममा सहभागी सबै साथीहरुप्रति आभारी छौं । हिजोको आन्दोलनको कार्यक्रमलाई रक्तदान सहित सिर्जनात्मक स्वरुपमा सम्पन्न गरियो । रक्तदानमा भाग लिनुहुने सबै साथीहरुप्रति आभार व्यक्त गर्दछौं । हाम्रो आन्दोलन जारी छ । सदा झैं ठिक ११ः०० बजे माइतीघर मण्डला आइपुग्नुहोला ।
१. साथीहरुको अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ ।
२. हाम्रो बल र आत्मविश्वासको स्रोत पनि तपाईं साथीहरु नै हुनुहुन्छ ।
३. चर्को घामका कारण सडकमा गर्मी निकै छ तर प्रतिबध्दता र अठोटका अघि त्यो बाधाले हार्ने निश्चित छ । । त्यसैले आन्दोलनमा आउनुभएका साथीहरुलाई आन्दोलन स्थलमा नै पूरा अवधि ( ११ बजेदेखि २ बजेसम्म) रहन अनुरोध गर्दछौं ।
४. पसल अघि मोटरबाइक पार्किङ गरिदिएर आफूहरु समस्यामा परेको गुनासो आन्दोलनको विरोध सभास्थल वरिपरिका व्यापारी बन्धुहरुको रहेको छ । यसमा विचार गरिदिनुहोला ।
५. हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुध्द छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।
६ आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैकालागि समानरुपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला ।
७. सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भइदिनुहोला । जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगरी दिनुहोला ।
मेरो आन्दोलन , मेरो सहभागिता ।
बलियो उपस्थिति, बलियो आन्दोलन–बलियो आन्दोलन, बलियो उपलब्धि ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता घोषणा स्थगित
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
- कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गगन थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग
- संसद बैठक LIVE
- चक्रपथ-महाराजगन्जखण्ड सडक विस्तारकाे काम शुरू
- वार्ता सकारात्मक भएपनि शिक्षक आन्दोलन आज पनि निरन्तर
- पोखरा विमानस्थलमा भएकाे भ्रष्टाचार अध्ययन उपसमितिकाे प्रतिवेदन लेखासमितिमा
- दुई कारोबार दिन सामान्य अंक बढेकाे नेप्से आज घट्याे
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
प्रतिकृया दिनुहोस