माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- गाउँ सहर संवाददाता
- २२ जेठ बिहीबार, २०८२ | १५:००:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।
माधव नेपालको सांसद पद निलम्बन
भ्रष्टाचार मुद्दा चलाएपछि नेपालको सांसद पद निलम्बन भएको छ । काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।
बहुदलपछि भ्रष्टाचार मुद्दामा तानिने अहिलेसम्मकै उच्चपदस्थ बने माधव नेपाल
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बहुदलीय व्यवस्थापछि भ्रष्टाचार मुद्दामा तानिने अहिलेसम्मकै उच्चपदस्थ व्यक्ति बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काभ्रेको जग्गा पतञ्जलीलाई हदबन्दी छुट दिएर पुन:प्लटिङ तथा बेचबिखनका लागि अनुमति दिँदा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध मुद्दा चलाएको हो ।
यसअघि, ०३५ सालमा पूर्वप्रधानमन्त्री तुल्सी गिरीविरुद्ध पनि गलैँचा निर्यात काण्डमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । पछि उनले ०३७ सालमा सफाइ पाएका थिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका नेपाल उच्च पदमा पुगेर भ्रष्टाचार मुद्दा लाग्ने पहिलो व्यक्ति बनेका हुन् ।
यसअघि, ललिता निवास जग्गा प्रकरणमा पनि निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाएर कारबाही अघि बढाउनुपर्ने माग गरिएको रिट सर्वोच्चमा विचाराधीन छ । त्यतिबेला मन्त्रिपरिषद्का निर्णय नीतिगत हुने भन्दै ललिता निवास प्रकरणमा मुद्दा नचलाइएको अख्तियारले प्रधानमन्त्रीकै हैसियतमा गरेको काममा अहिले मुद्दा चलाएको हो ।
प्रतिशोध राखेर भ्रष्टाचारको मुद्दा लगाएको नेकपा एसको आरोप
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन् ।
एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।
गौरबाट काठमाडौं आउँदैछन् माधव नेपाल
मुद्दा दायरपछि गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् ।
उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।
पालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् ।
पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।
माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेताहरू छलफलमा
नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा एकीकृत समाजवादीका नेता तथा सांसदहरू नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका नेताहरूसँग छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए ।
संसद् भवन बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादीका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका प्रकाश ज्वाला लगायत छलफलमा जुटेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जले
- लेखनाथ पत्रकार मञ्चको आयोजनामा वडाध्यक्षहरुसँग अन्तरकृया
- ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापी वृहत् बृक्षारोपण
- छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
- राष्ट्रियसभाकाे बैठकमा बजेटमाथि छलफल जारी (लाइभ)
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
प्रतिकृया दिनुहोस