नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- गाउँ सहर संवाददाता
- २१ जेठ बुधबार, २०८२ | २३:४६:०० मा प्रकाशित

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत आरिफ शेखको अर्धशतकको सहयोगमा नेपाले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो । २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपुर्ण साझेदारी गरे ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो ।
नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । ८औं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।
कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । ४६ रन जोड्दै कप्तान एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।
उत्कृष्ट सुरुवात गरेको नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो । पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।
नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो ।
तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडेका थिए ।
ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए ।
विजयी नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । भने, विजयी नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।
लिग टुको चौथो राउण्डमा नेपालको बाँकी खेल तालिका यसप्रकार छ :
१) जेठ २५(जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्ध
२) जेठ २७(जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस