गाउँ सहर

ठगी प्रकरणमा रविविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी अर्काे मुद्दा

काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ ।

यसअघि प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

मुद्दा दायर गरिएका लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरित सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत