खेल

नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ। 

नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ। सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।

विश्व टी-२० क्रिकेट वरीयतामा नेपाल १८औं स्थानमा छ। यो सिरिजलाई नेपालले भारत तथा श्रीलंकामा हुने २०२६ को विश्वकप छनोटको तयारीको रुपमा उपयोग गर्नेछ।  त्यसो त नेपालका नयाँ क्रिकेट प्रशिक्षक स्टुअर्ट ल पनि अस्ट्रेलियाकै पूर्वब्याट्सम्यान हुन्।

नेपालले भर्खरै स्कटल्यान्ड र नेदरल्यान्डस्‌सँग टी-२० त्रिकोणात्मक श्रृङ्खला खेलेको थियो। त्यस्तै  पहिलोपटक वेस्ट इन्डिजसँग ऐतिहासिक द्विपक्षीय टी-२० श्रृङ्खला आगामी सेप्टेम्बरमा खेल्ने घोषणा गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत