खेल

मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश

काठमाडौं । मलेसियालाई हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे ।

शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । ओपनरका रुपमा मैदानमा आएका प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो ।

यस खेलको विजेताले उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत