पूर्वाधार

आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे  चिया

कास्की । पोखरा क्षेत्रका पहाडी वरपर गाउँहरूमा ५ दशकअघिसम्म खयरको बुटो, ठुटो र चुरो (खदीरसार) लाई उमालेर चियाको विकल्पमा प्रयोग गरिन्थ्यो । परम्परागत रूपमा रोग प्रतिरोधात्मक क्षमता बढाउने र विविध रोग निवारण गर्ने यो घरेलु पेय अहिले भने लोपोन्मुख अवस्थामा पुगेको छ ।

खयरकाे चिया  स्वादको लागि   होइन, यो त हाम्रो संस्कृति, स्वास्थ्य र मनोविज्ञानसँग जोडिएको छ । सही तरिकाले र सन्तुलित मात्रामा सेवन गरिएमा खयरकाे चियाले शरीर र मन दुवैलाई लाभ हुने  गर्ग च्यवन ऋषि बारे अध्ययनमा जुटेका पाेखरा ३२ का कविराज खनाल बताउँछन् ।

आयुर्वेद चिकित्सक डा. नारायण पाण्डेले खयरको चुरोलाई पकाएर धुलो बनाएर त्यसमा मिश्री, तुलसी पात र पुदिना ( पुदिनहरा) मिसाएर बिहान–बेलुका खाली पेटमा सेवन गर्दा छाला रोग, कुष्ठरोग, मुखका खटिरा र अन्य  दोष विकारहरूमा निकै लाभदायक हुने बताउछन् ।  पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार पाेखरा ३२ काे गगनगाैंडा,काेत्रे क्षेत्र गर्ग र च्यवन ऋषिको तपोभूमि भएकाले  औषधिजन्य बनस्पति प्रशस्त पाइन्छ । खयरको ऐतिहासिक प्रयोगलाई ध्यानमा राख्दै वडाले ५० रोपनी जग्गा जडीबुटी संकलन केन्द्रका लागि छुट्याएर प्रदेश सरकारलाई पत्र पठाइसकेको उनले बताए ।

डिभिजन बन कार्यालय लेखनाथका बन अधिकृत सरोज जमरकट्टेलले खयरको संरक्षण र उपयोगलाई वन विभागले प्राथमिकतामा राखेको बताउछन् । उनका अनुसार, नेपाल र भारतका समुदायहरुमा खयरको उपयोग, व्यवस्थापन र संरक्षणमा ध्यान दिइएको छ साथै स्वास्थ्य व्यवस्थापन योजनाले बनमा देखिने ‘रुट र हार्ट‘ रोगहरुको समेत पहिचान र रोकथाम देखिएको छ भने यसको अलावा हालका दिनमा “खयरको काठ भारत निर्यात भइरहेको छ । यसको प्रयोग कपडा रंगाउने, पानमा मिसाउने, र रंग बनाउने काममा प्रयोग गरिन्छ । निजी वन क्षेत्रबाट नियम अनुसार कटानी र बिक्री अनुमति दिइएको छ भने सामुदायिक वनले यसको संरक्षण गरिरहेका छन् ।”

पाेखरा–२९ निवासी ९० वर्षीय पूर्व शैनिक होमनाथ आचार्य विगत ९ दशकदेखि खयरकाे  चिया सेवन गर्दै आएकाे बताउँछन् । सानै उमेरदेखि खयरको बुटो उमालेर चिया बनाउँथ्यौं। यसले प्रेसर, सुगर, ग्यास्टिक, र क्यान्सरसम्मका रोगमा राहत दिन्छ  अहिले बजारमा विभिन्न रंगी–बिरंगी चिया आएपछि यसको प्रयोग घटेको छ । सबै नेपालीले यसको उपयोग गर्नुपर्छ भन्ने उनको धारणा रहेको छ।

खयर एक महत्वपूर्ण बनस्पति हो जसको आयुर्वेदिक र परम्परागत चिकित्सा प्रणालीमा विशिष्ट स्थान छ । बनस्पति केवल वन पैदावार होइन, नेपाली समाजको जीवनशैली, स्वास्थ्य र संस्कृतिसँग गाँसिएको परम्परागत सम्पदा हो । यसको वैज्ञानिक र वैदिक मूल्यलाई बुझ्दै संरक्षण, प्रचार र प्रयोगमा सबै तहबाट ध्यान दिन आवश्यक छ । बर्तमान पुस्ताले बिर्सँदै गएको यो औषधीय चिया फेरि लोकप्रिय बनाउन सामुदायिक, शैक्षिक र नीतिगत तहबाट पहल अपरिहार्य देखिन्छ ।

 विशेष गरी यसको एन्टी बायोटिक,  रक्तचाप नियन्त्रण गर्ने क्षमताका कारण  खयरलाई औषधीय तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण  मानिन्छ  ।  

विष्णुहरि पाैडेल

तपाईँको मत