पर्यटन

पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका

काठमाडाैं । रामेछापकाे सुनापति गाउँपालिकाले पर्यटन प्रवर्द्धनकाे लागि काठमाडाैंमा अन्तरक्रिया कार्यक्रम गरेकाे छ । आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा पर्यटनको सम्भावनाबारे गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सुनापतिमा पर्यटनको प्रचुर सम्भावना रहेकोले सबै पक्षकाे एकताकाे खाँचाे रहेकाे बताए । 

प्रमुख अतिथिसमेत रहेका तामाङले सुनापति गाउँपालिका काठमाडौंबाट नजिक रहेर पनि विकासको हिसाबले पछाडी नै रहेपनि पछिल्लो समय द्रुत गतिमा अघि बढेको र विकासको कामको लागि प्रतिनिधिसभा सदस्यको हिसाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाए ।  

तामाङले सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना थप बलियो हुने बताउँदै त्यसका लागि प्रयास गरिरहेकाे र जुनसुकै निकायमा गएर पहल गर्ने प्रतिवद्धता पनि जनाए । 

त्यस्तै, पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले सुनापतिलाई युद्ध पर्यटनसँग पनि जोड्दै लैजान सकिने साथै पर्यटनका विभिन्न विधाहरु खाेजी गर्दै पर्यटकीय सम्भावना बोकेको सुनापतिलाई काठमाडौंसँग जोडन सकिने भएकाले नीति निर्माणको तहबाट राजनीतिक नेतृत्वले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । 

श्रेष्ठले सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकालाई जोडेर आन्तरिक पर्यटनलाई विकाश गर्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले सुनापति र दाेरम्बा शैलुङ गाउँपालिका मिलेर काम गर्दा अझ पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए । एक अर्का गाउँपालिकासँग रहेका ऐतिहासिक भुगोल, खनिज, सम्पदा खोजी र प्रवर्धन गर्नुपर्नेमा पाैडेलले जोड दिए ।

पौडेलले भने, ‘सुनापतिको देसारगाउँमा तामाखानी उत्खनन गरेका सुरुङहरू छन्, त्यसबारे अध्ययन गर्नुपर्छ । सुवेदार जम्दार धारो र अग्लेश्वरी पहाड जस्ता ऐतिहासिक कुराहरूलाई प्रचार गर्न सकेमा पर्यटनको विकास गर्न सकिन्छ । त्यतातिर पनि गाउँपालिकाले ध्यान दिन जरूरी छ ।’

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँ पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माणदेखि स्थानीय समुदायको भाषा, संस्कृति, रहनसहन, खानपिन, रितीरिवाजलाई पनि उत्थान गर्दै लैजान सके थप सहयोग पुग्ने बताए ।  

त्यसै गरि विद्युत प्राधिकारणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले नेपालथोक-लुभु-हिलेदेवी-सुनापती-शैलुङ पदमार्गलाई प्रवर्धन गर्न जाेड दिए । त्यसैगरि सुनकोशीमा बन्जी जम्प बनाउन सकिने र त्यसका लािग आफूले पर्वत कुस्माका व्यसायीहरुसँग पहल पनि गरेको उल्लेख गरे । पर्यटनका लागि प्रचार प्रसार नै प्रमुख रहेकाे त्यसमा घिसिङ जाेड दिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पर्यटन प्रवर्धनमा पर्यावरण, वनस्पतीलाई जोड्न सकिने उल्लेख गरे । तामाङ, मगर समुदायको बाहुल्यता भएकाले तामाङ समुदायको जनजातीय कला संस्कृतिलाई पनि प्रचार प्रसार र सांस्कृतिक प्रस्तुति गरेर पर्यटक आकर्षण गर्न सकिने उनकाे तर्क थियाे ।

मुर्त अमुर्त सम्पदाहरुलाई पनि सांस्कृति पक्षबाट पहिचान बनाउन सकिने र ढुंगाको कला, थाँका, गलैँचालाई पनि कलासँग समायाेजन गरे लैजानुपर्नेमा उनकाे जाेड थियाे । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पदमार्गहरुलाई विकासका नाउँमा डोजरे संस्कृतिले भत्काइरहेको अवस्थामा सुनापतिले त्यसाे नगरेकाेमा खुशी व्यक्त गर्दै पर्यटन बोर्डले प्राविधिक टीम खटाएर अध्ययन र प्रचार प्रसार, प्रवर्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

'पालिकासँग सहकार्य गरेर पर्यटनलाई अघि बढाउन पर्यटन बोर्डले अन्तराष्टिय रुपमा प्रचारप्रसार गर्न सकिन्छ । होमस्टेका लागि आवश्यक तालिम पनि उपलब्ध गराउछाैँ' उनले भने ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे सुनापति गाउँपालिकाले जस्तै सबै स्थानीय तहरु पर्यटनप प्रवर्धनमा सक्रिय हुनुपर्नेमा उनले जोड दिए । पर्यटन प्रवर्धनका लागि भूगोल, रहनसहनन, खानपीन, परम्परा र ऐतिहासिक, र सांस्कृतिक कुराहरु पनि पर्यटनभित्र पर्ने भएकाले कृषिलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

पर्यटन प्रवर्धनका लागि टानले पर्यटन प्रवर्धनका लागि सक्दो सहयोग गर्ने बताए । 

गाउँपालिका प्रमुख ठूलो कान्छा तामाङले सुनापति गाउँपालिका समृद्ध बन्न पूर्वाधार विकासले मात्रै नहुने भएकाले पर्यटन प्रवर्धनका लागि जोड दिइएको बताए । पर्यटन प्रवर्धनका लागि स्थानीय तहले मात्रै नसक्ने भएकाले प्रदेश तह, संघीय सरकार, पर्यटन बोर्डजस्ता सरकारका विभिन्न निकायहरुले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे । 

गाउँपालिकाले स्थानीय तहमा तालिमा दिएर गलैँचा, थाङ्का, मह, टिमुरजस्ता बस्तुहरुलाई व्यवासायिक रुपमा उत्पादनमा जोड दिइएको र रोजगारीसँगसँगै पर्यटनसँग जोड सकिने उपायहरुको खोजी गर्दै यस्ता अन्तरक्रिया कार्यक्रम राखिएको बताए । 

'सुनपातिको उत्पादन र पर्यटनलाई सबैजना मिलेर एकिकृत रुपमा लैजानुपर्ने अवस्था भएकाले बजेटदेखि प्रचार प्रसार र प्रवर्धन गर्नका लागि सहयोगी हातहरु एकैठाउँमा ल्याउनको लागि यस्तो कार्यक्रम आयोजना गरिएको' उनले भने । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईँ, संविधानसभा सदस्य डिल्लीमान तामाङ, नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, सुनापति गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी जिल्लाका विभिन्न राजनीतिक पार्टीका नेतृत्व, पत्रकार तथा अन्य पेशा व्यवसायमा संलग्नहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै सुनापति गाउँपालिकाकी उपाध्यक्ष दीपा विष्टले सुनापति गाउँपालिका युद्ध पर्यटकीय थलो, ऐतिहासिक ठाउँहरु, पर्यटन प्रवर्धनका लागि थाङ्का र गलैँचाकाे हब बनाउनकाे लागि प्रचार प्रसारकाे खाँचाे रहेकाे औँल्याइन् । पर्यटकीय हिसाबले सम्भावना र अवसर तथा चुनौतीका बारेमा यस्ता कार्यक्रममार्फत सुझाव, सल्लाह लिएर कार्यान्वयनमा लैजाने पालिकाेकाे याेजना रहेकाे बताइन् ।

कार्यक्रममा स्थानीय तहमा उत्पादन भएका गलैँचा, थाङ्का, टिमुर, मह, बुद्धचित्तको माला प्रदर्शनी र बिक्रीमा राखिएको थियो भने कलाकारहरूले डम्फु र टुङ्ना बजाएर अतिथिहरूलाई स्वागत गरिएकाे थियाे । कार्यक्रममा संयाेजन तथा सञ्चालन सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले गरेका थिए । 

तस्बिर- सुनापति गाउँपालिका

गाउँ सहर संवाददाता

तपाईँको मत