पाकिस्तान साहिन्ससँग एक रनले हार्याे नेपाल
- ६ भदौ शुक्रबार, २०८२ | १८:४७:०० मा प्रकाशित

काठमाडाैं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग पराजित भएको छ ।
पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन ।
सुस्त सुरुवात गरेको भएपनि रोहित र दिपेन्द्र मिलेर नेपाललाई राम्रो अवस्थामा पुर्याएका थिए । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोड्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९-७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।
यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ ।
प्रतिकृया दिनुहोस