आन्दोलनका कारण देशभर नियमित स्वास्थ्य सेवा प्रभावित, बिरामी मारमा
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०८३ | ०८:५५:०० मा प्रकाशित
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पताल मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र तोडफोडको घटनाको विरोधमा नेपाल चिकित्सक संघले थालेको आन्दोलनका कारण बुधबार पनि देशभर आकस्मिक सेवाबाहेकका नियमित स्वास्थ्य सेवा प्रभावित भएका छन्। यसबाट उपचारका लागि अस्पताल पुगेका हजारौं बिरामी समस्यामा परेका छन्।
स्वास्थ्य सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यस्तो सेवा बन्द गर्नु संविधानको धारा ३५ ले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक र उपभोक्ताको अधिकारविपरीत हुने भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
चिकित्सकको सुरक्षाको विषय गम्भीर भए पनि अस्पताल बन्द गरेर आन्दोलन गर्नु उचित नहुने र यस्ता विषय वार्तामार्फत समाधान गर्नुपर्ने बिरामीहरूकाे भनाइ छ। संवाद र सहमतिबाट समस्याको समाधान खोज्नुपर्नेमा उनीहरूकाे जोड छ।
राष्ट्रिय मानव अधिकार आयोग ले पनि विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई संवेदनशील भई सेवा सुचारु गर्न तथा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक माध्यमबाट विरोध जनाउन आग्रह गरेको छ। आयोगले सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार र सम्बन्धित सबै पक्षलाई वार्तामार्फत समाधान खोज्न अपिल गरेको छ।
उता, वीरगञ्जमा बसेको सर्वदलीय बैठकले पनि अस्पताल सेवा अवरुद्ध हुँदा बिरामीको उपचार प्रभावित भएको भन्दै संवाद र सहमतिमार्फत विवाद समाधान गर्न आग्रह गरेको छ।
यसैबीच, नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथिको कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकाको नाम सार्वजनिक नगरिए पनि घटनाबारे थप अनुसन्धान जारी छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस