गाउँ सहर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

  • ७ भदौ आइतबार, २०८३ | ०७:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ ।

प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गरे ।

'अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ, पहिलो नेपाली राजनीति, गणतन्त्र र सङ्घीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास र चौथो विषय युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहनेछन्', सभापति थापाले भने ।

सभापति थापाले प्रदीप गिरिलाई सम्झनु भनेको उनका विचारहरू स्मरण गर्नु मात्रै नभई गिरिले जीवनभर रोजेको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्ने भावनाका साथ हामी ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिएको जानकारी गराए ।

'प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए, समाजको सबैभन्दा कमजोर, सीमान्तकृत र पछाडि पारिएका नागरिकको पक्षमा निर्भीकतापूर्वक उभिने उहाँको प्रतिबद्धता त्यत्तिकै महत्त्वपूर्ण थियो, यिनै दुई मूल भावनालाई केन्द्रमा राखेर हामीले यो फेलोसिपलाई विचार, अध्ययन र अनुसन्धान तथा कर्म, न्याय र अभियानु गरी दुई आधारमा अघि बढाएका छौँ’', सभापति थापाले भने । उनले कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उनका विचारलाई स्मारकमा मात्र सीमित गर्नु होइन भन्दै नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गरेको बताए ।

उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरि विचारको विश्वविद्यालय भएको बताए । 'विसं २००७ देखि मन्त्री बन्नेहरूको नामावली धेरै होला, तर त्यो नामावलीमा उहाँ भेटिनु हुन्न, मन्त्री नभए पनि उहाँ धेरै मानिसले सम्झना गर्ने र सुन्ने व्यक्ति हुनुहुन्छ, संसद्‌मा बोलेका र कार्यक्रममा बोलेका भिडियोहरू सुन्दा पनि धेरै कुरा थाहा हुन्छ', उपसभापति शर्माले भने ।

गिरिका भाइ शेखर गिरिले आफ्ना दाजु प्रदीप गिरि सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उनी सादगी र शाकाहारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी रहेको बताए ।

तपाईँको मत