गाउँ सहर

आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन

 काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

स्नानपछि जौं, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरि गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।

किन लगाइन्छ जनै ? 
धार्मिक महत्त्व अनुसार द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ अर्को जन्म हो । जनै जहिले पनि देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

जनै तीन वटा पवित्र सूत्रबाट बन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि जनैलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमका प्रतीक पनि हुन् ।

जनैको लम्बाइ ९६ औँला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ ।

बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अङ्ग, ६ दर्शन, तीन सूत्र ग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

जनै लगाउने नियम यस्ता छन्
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक सूत्र चुँडियो भने त्यो धारण गर्नु हुँदैन । जनै मैलिनु भन्दा अगाडी नै बदल्नु पर्छ वा लगाएको ६ महिनाभन्दा बढी समय भयो भने अर्को बदल्नुपर्छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम हिन्दु संस्कारमा छ ।

जनै लगाउने मन्त्र–

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

रक्षाबन्धनको महत्त्व
आजको दिनमा रक्षाबन्धन धागोमा धेरै मन्त्रहरू पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल ऊर्जा बढ्छ भन्ने मान्यता छ । त्यस कारण आज घरघरमा पुरेतहरू गएर आफ्ना यजमानको हातमा रक्षाबन्धनको धागो बाँधिदिन्छन् र दिदी बहिनीले आफ्ना दाजुभाइका हातमा लामो आयु माग्दै राखी बाँधिदिने चलन छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत