सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- गाउँ सहर संवाददाता
- ११ भदौ बिहीबार, २०८३ | १२:००:०० मा प्रकाशित
काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद् सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।
सर्वदलीय बैठकले तत्कालको खोज तथा उद्धारसँगै प्रारम्भिक पुनःस्थापनाका लागि निरन्तर काम गर्ने सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सभापति गगन थापाले संयन्त्र गठन गरेको जानकारी दिए।
संयन्त्रले विपत्तिको केही दिनपछि प्राथमिकता परिवर्तन भए पनि दीर्घकालसम्म सरकारलाई सुझाव दिने, अनुगमन गर्ने, कमजोरी पहिचान गर्ने तथा आवश्यक ठाउँमा राजनीतिक दलहरूलाई संयुक्त रूपमा परिचालन गर्ने बताए।
बैठकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्।
विपद्को समयलाई राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै राजनीतिक दलहरूले दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
सर्वदलीय बैठकले अघि सारेका १० बुँदा यस्ता छन् :
१. राहत कार्यको गैरराजनीतिकरण: उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता–कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने।
२ आर्थिक सहयोगमा एकद्वार प्रणाली: दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खातामार्फत मात्र जम्मा गर्न आह्वान गर्ने।
३.सामाजिक सञ्जालको जिम्मेवार प्रयोग: भ्रामक सूचना, अतिरञ्जित सामग्री तथा प्रभावितको गोपनीयता र आत्मसम्मानमा असर पार्ने सामग्री प्रसारण नगरी आधिकारिक रूपमा प्रमाणित सूचना मात्र सम्प्रेषण गर्ने।
४. हिमतालको वैज्ञानिक अध्ययन: नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक अध्ययन तथा नक्साङ्कन गर्ने र चीनतर्फका जोखिमपूर्ण हिमतालको अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने।
५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली: सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल–चीनबीच वास्तविक समयको तथ्यांक आदानप्रदान तथा भरपर्दो पूर्वसूचना प्रणालीलाई संस्थागत र प्रविधिमैत्री बनाउने।
६.राष्ट्रिय एकता र समावेशी उद्धार: स्थानीय तहको पहिलो प्रतिकार्यकर्ताका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने।
७.उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता: क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुनर्निर्माण गर्ने तथा कालोबजारी, कृत्रिम अभाव र राहत दुरुपयोगमा संलग्नलाई कडा कानुनी कारबाही गर्ने।
८.जलवायु न्यायको मुद्दा उठाउने: नेपालले भोगिरहेको जलवायुजन्य हानि–नोक्सानीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउँदै जलवायु न्यायका आधारमा अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारको सहयोग माग्ने।
९. अन्तर्राष्ट्रिय सहयोगको अपिल: उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायसँग मानवीय, प्राविधिक र आर्थिक सहयोग माग्ने।
१०.उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन: विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद् नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका कामकारबाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने।
सर्वदलीय बैठकले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्वयंसेवकले पुर्याएको योगदानको उच्च प्रशंसा गरेको छ। विपद्लाई राष्ट्रिय एकता, पूर्वतयारी र उत्थानशील पुनर्निर्माणको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्।
संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका महासचिव चन्दन सिंहले हस्ताक्षर गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस