गाउँ सहर

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उदयपुरका स्थायी बासिन्दा कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त भएपछि पुनः कोषको नेतृत्व गर्ने जिम्मेवारीमा फर्किएका कार्कीसँग वित्तीय तथा मौद्रिक क्षेत्रको लामो अनुभव छ।

कार्कीले नेपाल राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत काम गरिसकेका छन्। केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता, वित्तीय बजार तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा उनको अनुभवलाई महत्वपूर्ण मानिन्छ।

शैक्षिक रूपमा कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।

वित्तीय बजार, नियमन र संस्थागत व्यवस्थापनमा गहिरो दख्खल भएका कार्कीको पुनर्नियुक्तिले नागरिक लगानी कोषको आगामी रणनीतिक योजना, सेवा प्रवाहमा सुधार तथा पुँजी बजारको विस्तारमा थप गतिशीलता आउने विश्वास लिइएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत