खेल

एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायम राख्दै पोखरा एभेन्जर्समाथि ८ विकेटको शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको १३औँ खेलमा पोखरालाई ९७ रनमै समेटेको लुम्बिनीले ९८ रनको लक्ष्य ११.४ ओभरमै पूरा गर्‍यो।

पोखराले दिएको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ५० बल बाँकी छँदै जित दर्ता गरेको हो। सुरुवाती दुई विकेट गुमाए पनि कप्तान रोहित पौडेल र निरोशन डिकवेलाको उत्कृष्ट साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो।

रोहित र डिकवेलाको अविजित साझेदारी, ७७ रनको योगदान

लुम्बिनीको जितमा कप्तान रोहित पौडेल नायक बने। उनले ३२ बलमा तीन चौका र तीन छक्काको मद्दतले अविजित ४७ रन बनाए। विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २६ बलमा दुई चौका र एक छक्कासहित अविजित २७ रन जोडे।

लुम्बिनीको सुरुवात भने अपेक्षाअनुसार हुन सकेन। ओपनर आसिफ शेख ७ रन बनाएर रनआउट भए भने डार्सी सर्ट १३ रनमा आउट भए। दुई ओभरमा २१ रन जोड्दा दुवै ओपनर गुमाएको लुम्बिनी दबाबमा देखिएको थियो।

तर त्यसपछि रोहित र डिकवेलाले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे। उनीहरूको साझेदारीले पोखरालाई खेलमा फर्कने कुनै अवसर दिएन।

पोखराका विपिन खत्रीले एक विकेट लिए।

रुबेन ट्रम्पलम्यानको घातक बलिङ, ९७ रनमै रोकियो पोखरा

यसअघि टसपछिको ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले २० ओभरमा नौ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका बलरले सुरुदेखि नै पोखराका ब्याटरलाई दबाबमा राखे। पहिलो ओभरमै अर्जुन कुमाल खाता नखोली आउट भए। नियमित अन्तरालमा विकेट गुमाएको पोखरा ८.३ ओभरमा ३१ रन बनाउँदा पाँच विकेट गुमाएर संकटमा परेको थियो।

१५.२ ओभरमा ५२ रन जोड्दा सात विकेट गुमाएको पोखरालाई चामिका करुणारत्नेले केही राहत दिने प्रयास गरे। उनले १७ बलमा दुई छक्कासहित सर्वाधिक २५ रन बनाए।

कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। तिलक भण्डारीले चार ओभरमा २२ रन दिँदै दुई विकेट हात पारे। अभिशेष गौतमले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चेर एक विकेट लिए। शेर मल्ल र कप्तान रोहित पौडेलले पनि समान एक विकेट लिए।

लुम्बिनी शीर्षमा, पोखरा लगातार तेस्रो हारसँगै पुछारमा

यस जितसँगै लुम्बिनी लायन्स एनपीएलको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी प्रतियोगिताको एक मात्र अपराजित टोली बनेको छ।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि प्रतियोगिताको सुरुवात निराशाजनक बनेको छ। लगातार तीन खेलमा पराजित पोखरा अंकतालिकाको पुछारमा पुगेको छ।

यसअघि मंगलबारकै पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो। लुम्बिनीको जितपछि विराटनगर शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत