भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- गाउँ सहर संवाददाता
- १७ कार्तिक मंगलबार, २०८३ | १९:१६:०० मा प्रकाशित
काठमाडौँ। यस वर्षको भाइटीका कार्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा लगाउन उत्तम साइत निर्धारण गरिएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले तिहारका पर्वहरूको तिथि र शास्त्रीय विधि सार्वजनिक गर्दै भाइटीकाका लागि उक्त साइत तय गरेको हो।
समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तमा भाइटीकाको शुभ समय निर्धारण गरिएको हो। यद्यपि सर्वसाधारणले मध्याह्नकालमा पनि टीका लगाउन सक्नेछन्। राज्य सञ्चालकहरूले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।
यस वर्षको तिहारमा धार्मिक तिथिको संयोगसँगै नेवार समुदायको मौलिक परम्परा र नेपाल संवत्को नयाँ वर्षसमेत जोडिएका छन्। विशेषगरी कार्तिक २४ गते म्हः पूजा र नेपाल संवत् ११४७ को सुरुवात एकै दिन पर्ने भएकाले यस वर्षको तिहार सांस्कृतिक दृष्टिले पनि विशेष रहनेछ।
यस्तो छ यस वर्षको तिहार तालिका
समितिले सार्वजनिक गरेको निर्णयअनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबार धनतेरसबाट सुरु हुनेछ।
-
कार्तिक २० गते, शुक्रबार: धनत्रयोदशी (धनतेरस)
-
कार्तिक २१ गते, शनिबार: काग तिहार तथा धन्वन्तरी जयन्ती
-
कार्तिक २२ गते, आइतबार: नरक स्नान, कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा
-
कार्तिक २३ गते, सोमबार: औँसी तिथिमा गरिने स्नान तथा दान र लक्ष्मीपूजा
-
कार्तिक २४ गते, मंगलबार: गाईपूजा, गोरुपूजा, म्हः पूजा तथा नेपाल संवत् ११४७ को प्रारम्भ
-
कार्तिक २५ गते, बुधबार: भाइटीका तथा किजापूजा
लक्ष्मीपूजाको तिथिमा किन फरक निर्णय?
यस वर्ष कार्तिक २२ गते दिउँसो कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि प्रारम्भ हुने भएकाले पर्वहरूको निर्णय शास्त्रीय मान्यताका आधारमा गरिएको समितिले जनाएको छ।
शास्त्रीय मान्यताअनुसार सायंकालमा औँसी तिथि परेको दिन लक्ष्मीपूजा गर्नुपर्ने हुन्छ। त्यसैले समितिले कात्तिक २२ गते साँझ लक्ष्मीपूजा र औँसी तिथिमा गरिने स्नान तथा दान कात्तिक २३ गते बिहान गर्नुपर्ने निर्णय गरेको हो।
यसले तिहारका पर्वहरू एउटै दिन वा एउटै तिथिमा मात्र सीमित नभई तिथि र समयअनुसार फरक-फरक दिनमा मनाउनुपर्ने धार्मिक परम्परालाई पनि उजागर गरेको छ।
म्हः पूजा र नेपाल संवत् एउटै दिन
यस वर्षको तिहारको अर्को महत्त्वपूर्ण पक्ष म्हः पूजा र नेपाल संवत् नयाँ वर्षको संयोग हो। कात्तिक २४ गते मंगलबार नेवार समुदायले म्हः पूजा गर्नेछन् भने सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
म्हः पूजा नेवार समुदायको मौलिक परम्परा हो, जसमा आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरिन्छ।
समितिले स्वीकृति दिएका तीनवटै पञ्चाङ्गमा पनि कात्तिक २४ गते नै म्हः पूजा गर्ने उल्लेख गरिएको छ। सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीद्वारा प्रकाशित पञ्चाङ्गमा समेत यही मिति उल्लेख छ।
नेपाल संवत्को नयाँ वर्ष सूर्योदयका आधारमा मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाले कार्तिक २४ गतेबाट नयाँ वर्ष सुरु हुने समितिको निर्णय छ।
भाइटीका दाजुभाइ दुवैका लागि
भाइटीकालाई सामान्यतया दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने पर्वका रूपमा बुझिए पनि शास्त्रीय ग्रन्थमा प्रयोग गरिएको ‘भ्रातृपूजा’ शब्दले दाजुभाइ दुवैलाई समेट्ने समितिले स्पष्ट पारेको छ।
समितिका अध्यक्ष भट्टराईका अनुसार भाइटीका भनिए पनि ज्येष्ठताको क्रमअनुसार टीकाटाला गर्नु शास्त्रसम्मत हुन्छ। त्यसैले यस पर्वलाई दाजुभाइबीचको पारिवारिक सम्बन्ध र आपसी सम्मानसँग पनि जोडेर हेर्न सकिन्छ।
यमपञ्चकको धार्मिक मान्यता
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। यस अवधिमा यमदीपदान गर्ने परम्परा छ। परिवारका सदस्यको संख्याअनुसार नाम उच्चारण गरी यमदीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
काग र कुकुरलाई मीठा परिकार खुवाउने चलन पनि तिहारको महत्त्वपूर्ण पक्ष हो। वैदिक परम्परामा काग र कुकुरलाई यमदूतसँग जोडेर व्याख्या गरिएको छ। उनीहरूलाई सम्मानपूर्वक भोजन गराउँदा यमलोकको यात्रामा सहयोग पुग्ने धार्मिक विश्वास रहिआएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
प्रतिकृया दिनुहोस