गाउँ सहर

तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।

महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ ।

महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ ।

त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ ।

महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।

महानगरले तोकेका बिक्रीस्थलहरू:

- नयाँ बानेश्वरस्थित एनबी सेन्टर
- शंखमुलस्थित बिगमार्ट
- नयाँ बानेश्वरस्थित आईप्लेक्स मल
- मध्य बानेश्वरस्थित सेल्सबेरी
- बत्तीसपुतलीस्थित फोनिक्स टावर
- तिनकुने चौर
- सिफल चौर
- चाबहिलस्थित एसी कम्प्लेक्स
- चाबहिल गणेशस्थानको तरकारी बजार
- चाबहिलस्थित केएल टावर अगाडि
- स्वयम्भूस्थित धर्मचक्र पार्क
- कालिमाटी ब्यांक्वेट
- कालिमाटी चौबल
- कलंकीस्थित भाटभटेनी
- नयाँ बजारस्थित भ्याली कोल्ड स्टोर
- माछापोखरीस्थित बुद्ध महल र गुणस्तर खाल्डो
- हाँडीगाउँ वडा नम्बर ५ को अगाडिको डबली
- हाँडीगाउँ वडा नम्बर ५ को गणेश मन्दिर डबली
- सामाखुसीस्थित कोइराला स्मार्ट
- महाराजगञ्जस्थित सेल्सबेरी
- गोंगबुस्थित बिगमार्ट
- चप्पल कारखानास्थित बिगमार्ट
- बालुवाटारस्थित बिगमार्ट
- कमलादीस्थित आईटी बिल्डिङ
- पुतलीसडकस्थित स्टार मल
- अनामनगरस्थित भाटभटेनी
- टेवहाल मन्दिर परिसर
- सुन्धारास्थित काठमाडौं मल
- न्यूप्लाजास्थित बज्र कम्प्लेक्सको गुडमार्ट
- लगन
- जैसीदेवल
- भृकुटीमण्डप

गाउँ सहर संवाददाता

तपाईँको मत