भैलेनी...देउसुरे ! ‘हरियो गोबरले लिपेऊ कि, लक्ष्मी पूजा गरेऊ कि, हे औँसी बारो गाई तिहारो भइलो’
- गाउँ सहर संवाददाता
- ७ कार्तिक सोमबार, २०७९ | १७:०७:०० मा प्रकाशित

काठमाडौँ । ‘हरियो गोबरले लिपेऊ कि लक्ष्मी पूजा गरेऊ कि हे औँसी बारो गाई तिहारो भइलो’ ।। ‘झिलिमिली झिलिमिली..देउसिरे, के को झिलिमिली..देउसिरे, फूलको हैन..देउसिरे, बत्तीको झिलिमिली..देउसिरे ।’
आजको दिन मिल्नेसम्मको घरमा गुञ्जिने गीत हो यो । परापूर्वकाल देखिनै मूखमा झुण्डएको भैली गीत आज तपाईंको घरमा गुञ्जिने छ । लोक भेषभूषामा सजिएका दिदीबहिनीहरुको समूहले गीत गाउँदै सांस्कारिक शैलीमा नृत्य गर्दै आज भैला/भैली खेलिन्छ । यसमा आजकल भने केटाहरुको पनि सहभागिता बढेको पाइन्छ र देउसीमा केटीहरुको पनि समावेशीता छ ।
आजको भैली सकिएपछि देउसी सुरु हुन्छ । भैली र देउसीले महान पर्व तिहारको रौनकलाई ह्वात्तै बढाउँछ र समाज चलायमान बनाउँछ । यही मनोरञ्जनात्मक संस्कृतिले गर्दा तिहार पर्वको छुट्टै रोमाञ्चकता छ । हरेक दुःख सुखलाई यही चौतारीले चंगा बनाइदिन्छ र जीवन जीउनको लागि उर्जा भर्ने काम गर्दछ । यो क्रम भाईटिका अर्थात तिहारको पाँचौँ दिनसम्म चल्छ । तिहार भन्ने बित्तिकै फूलैफूलको मौसम अनि रमाइलो र झिलिमिली पर्वको रुपमा लिइएको कारणपनि यही हो ।
हिन्दु ग्रन्थले के भन्छ ?
पौराणिक ग्रन्थहरूमा वर्णित कथाअनुसार पृथ्वी लोकमा राज्य गर्ने एक जना बलि नाम गरेका राजा थिए । उनी अत्यन्त दानी र सहृदयी थिए । दुःखी, गरिब, सन्त, महन्तलगायतका आफ्ना लोकमा अभावमा रहेका जनतालाई उनी आफूसँग भएको धन सम्पत्ति दान गर्थे । प्रत्येक दिन दान नगरी उनी कहिल्यै केही खाँदैनथे ।
बलि राजाको यस पुण्यको प्रतापले स्वर्गा्दिलोक हल्लिन थाले र देवीदेवताले भगवान विष्णुको प्रार्थना गरे । भगवान विष्णुले देवीदेवताको पुकार सुनेर बलि राजालाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए ।
त्यसपछि विष्णु वामन रूप धारण गरेर बलि राजालाई छल्न पृथ्वी लोक गए र तीन पाउ जमिन दानको याचना गरे । दान माग्न आएको ब्राह्मण सानो भएको र उसका पाउ पनि साना नै रहेको भन्दै बलि राजा दान दिन तयार भए । छल गर्न आएका विष्णुको कुराको भ्रान्तिमा परेर बलि राजा दान दिन तयार भएपछि वामनको रूप एक्कासि विराट भयो ।एउटा पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश ढाकिदियो । तेस्रो पाउभरिको जमिन कहाँबाट दिने भनी बलि राजा अन्यौलमा परे । उनले आफ्नो थाप्लो वा शिर थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे । बलि राजाको दान दिने दानी स्वभाव नराम्रोसँग तोडियो ।
त्यसपछि बलि राजाले विष्णुसँग वर्षमा एकपटक तिहार वा यमपञ्चकका बेलामा पृथ्वी घुम्ने अवसर दिइयोस् भनेर प्रार्थना गरे । यस प्रार्थनालाई स्वीकार गरेर बलिलाई वर्षमा एकपल्ट पृथ्वीमा आउने अनुमति विष्णुले दिएका हुन् भन्ने कथन छ । यसैलाई विश्वास मानी बलि तिहारमा घुम्न आउने र उनको स्वागतमा दीप प्रज्वलन गर्ने चलन छ । यही किंवदन्तीलाई आधार मानेर देउसी र भैली खेल्न थालिएको हो । देउसी र भैली खेल्नेहरू बलि राजा आउन नभ्याएको र आफूहरूलाई बलिले पठाएको भनी “हामी त त्यसै आएनौँ, बलि राजाले पठाका, हे औँसी बारो गाईतिहारो भैलो” भन्दै भट्याउने गर्छन् ।
अर्को तर्क (मगरको मौलिक पर्व)
भैली खेल्दा किन बलिराजाले पठाएको भनिन्छ त ? हे भन–भन भाई हो फाईलो (भईलो–भैलो) हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो) हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो) बलिहाङको (मगर भाषामा हाङको अर्थ राजा हुन्छ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको १४ औं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तिशाली राज्यको स्थापना गरेका थिए (राजाराम सुवेदी, २०६३, ८–९) उनको राज्यको सिमाना मगरातदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो ।
एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्, ‘जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिनाको औँसीको रातमा हुँदैछ ।’ यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपत आइलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने, ‘मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरी फकाउन सक्यौ भने म बाँच्न सक्छु ।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ति बालेर खान, पिउन छाडेर जागा बसेर फाइलो–फाइलो भट्याउँदै प्रार्थना गर्न थाले ।
काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै फाइलो–फाइलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो वातावरणले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ । जनताले कालदेखि बचाउँदा भावविहल भई बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ति बालेर मिठो मसिनो खाए । आ–आफ्नै घरमा भएका दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाइलो गरे । उमंगको खुसीयाली साट्दै फाइलो–फाइलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाइलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ । बलिराजाको दीर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी-भैलो खेल्न सुरु गरिएको हो ।
मौलिक विशेषता
दिदीबहिनी दाजुभाइको मिलनको चाड तिहारको रमाइलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसिरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो ।
यसरी खेल्नुहोस देउसी-भैलो
- देउसी–भैलो खेल्दा संयमित एवं अनुशासित रहनुपर्छ ।
- समूह बनाएर सामाजिक कार्यका लागि देउसी–भैलो खेल्नु उपयुक्त हुन्छ ।
- पैसा कम पाइयो भनेर अपशब्द बोल्ने तथा सामान तोडफोड गर्ने काम गर्नु हुँदैन ।
- देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्व जानकारी गराउनु राम्रो हुन्छ ।
- धेरै अबेरसम्म अरुलाई अप्ठ्यारो हुने गरि देउसी–भैलो खेल्नु हुँदैन ।
- हिजोआज संघ–संस्थाहरू समूह बनाएर देउसी भैलो खेल्ने गरेका छन् । यसरी देउसी–भैलो खेल्दा अर्को समूहसँग झगडा गर्नु हुँदैन ।
- सबैले सबैलाई समान व्यवहार गरेर देउसी भैलो खेल्नुपर्छ ।
हामीपनि भनाैँ भैलेनी, देउसिरे.....................।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभरीबाटै सबैभन्दा बढि जीपीए जीपीए ल्याउन सफल रिलायन्स इन्टरनेशलन एकेडेमी
- विद्योदय माविमा रोपाइँसँगै सिकाइ
- संसद्मा सम्बोधन गरेर प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै
- एसईई ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, साउन २९ देखि पूरक परीक्षा
- नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक यस्ताे रह्याे
- माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
- नेप्से परिसूचक स्थिर, ५ अर्ब ९४ करोडकाे काराेबार
- समयमै बजेट ल्याउन नसक्ने यी ३९ स्थानीय तह
- पाँच महानगरपालिकाले ल्याए बजेट, काठमाडाैंकाे आएन
प्रतिकृया दिनुहोस