गाउँ सहर

धरानमा निषेधाज्ञा, र्‍याली र जुलुस गर्न प्रतिबन्ध, संयमित र संवेदनशील हुन मेयर हर्क साम्पाङको अपिल

सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।  

सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। 

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ। 

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे हाे।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सद्‍भाव कायम राख्न मेयर राईको अपिल

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् । 

'विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,' राईले भनेका छन् ।

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उनले उल्लेख गरेका छन् ।

'नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपिल गर्दछु' उनले भनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत