खेल

पारस खड्काले गरे बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी बन्ने घाेषणा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् । 

बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचन भदौ १५ गते हुँदै छ । बागमती प्रदेश क्रिकेट सङ्घको सदस्यका रूपमा मान्यताप्राप्त काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला सङ्घका प्रतिनिधिहरूले बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्य हुन् ।

पारसलाई बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा अगाडि बढाउन आफूहरू सहमत रहेको भक्तपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिषराज पाण्डेले बताए । काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर घलेले पनि पारसलाई अध्यक्षमा जिताउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । 

घलेले बागमती प्रदेशका अन्य जिल्लालाई पनि पारसलाई सहयोग गर्न आग्रह गरे । चितवन र नुवाकोट जिल्ला पनि बागमती प्रदेश क्रिकेट सङ्घका सदस्य हुन् । यी दुई जिल्लाका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत