प्रतिनिधि सभा

“गरिबको दशैँ यसपालि कसरी टर्छ ?” - सांसद बहस

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रघुजी पन्तले बजारमा व्याप्त महङ्गी नियन्त्रणका लागि माग गरे । उनले भने, “गरिबको दशैँ यसपालि कसरी टर्छ ?”, “खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास् ।” 

सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महङ्गीको अनुगमन र मूल्याङक्न तदारुकता गर्न ध्यानाकर्षण गराइन् । उनले  मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराइन् । 

यस्तै सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरु नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । सांसद मेनुका पोखरेलले महङ्गी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताइन् ।

सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।

अन्य सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत