गाउँ सहर

नक्कली मदिरा बेच्ने नाइके रामेछापका कार्कीसहित ९ जना पक्राउ

काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् । पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए । 

उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद भएको घिमिरेले बताए । 

उनीहरूले चिनी र पानी मिलाएर पकाउने त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको प्रहरीले जनाएको छ । 

त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ । 

बरामद मदिरा
खुकुरी रम-२८८ बोतल
फाइटर प्रिमियम डिलक्स ब्लोन्ड- ९०० बोतल
३६५ डेज ब्ल्याक एक्सएक्सएक्स- ९६ बोतल
गोल्डेन वाक- ६३ बोतल
८८४५ भोड्का- ४८ बोतल
सगुन गोल्ड- १५ बोतल

को को पक्राउ परे? 
हाल काठमाडौंको मूलपानी बस्ने रामेछापको खाँडादेवी गाउँपालिका २ निवासी २८ वर्षीय मनोज खत्री।

रामेछापको खाँडादेबी गाउँपालिका-२  घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की।

सिन्धुपाल्चोकको चौतारा-३ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २७ वर्षीय मोहन खड्का।

सिन्धुलीको कमलामाई नगरपालिका-९ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङ। 

काठमाडौंको कागेश्वरी मनोहरा वडा-६  घर भई हाल मूलपानी बस्ने ३५ वर्षीय सुमन नगरकोटी। 

सिन्धुलीको कमलामाई नगरपालिका-७  घर भई हाल कोटेश्वर बस्ने ४० वर्षीय लेखब्रिकम थापा।

रामेछापको मजुवा गाउँपालिका-३ घर भई हाल मूलपानी बस्ने २३ वर्षीय महेश खत्री।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई हाल मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की।

रामेछापको खाँडादेवी नगरपालिका-२ घर भई हाल मूलपानी बस्ने २० वर्षीय मनीष खत्री। 

गाउँ सहर संवाददाता

तपाईँको मत