गाउँ सहर

पोखरामा विश्व सिमसार दिवस मनाइयो

पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ ।

सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य सहित मनाउन सुरु गरिएको यो दिवस सन् २०२४ को नारा “सिमसार: मानव हितको आधार भन्ने नाराका साथ पोखरा ३०को मैदीताल परिसरमा मनाइएको  हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश बन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर रामचन्द्र  कण्डेलले सिमसारक्षेत्रमा हुने प्रदुषण रोक्नुपर्ने , सिमसारको संरक्षण ,दिगो व्यवस्थापन र स्थानीय रूपमा सिमसार पुनर्स्थापना गर्ने विषयमा जोड दिए ।

गण्डकी प्रदेश सरकार ताल संरक्षण  तथा विकास प्राधिकरण  पोखराको आयोजनामा भएको कार्यक्रममा स्वागत गर्दै मैदीताल मत्स्य तथा कृषि पर्यटन सहकारीका अध्यक्ष भरतप्रसाद तिवारीले  सिमसार र मानिस जीवन अन्तर सम्बन्धित भएका उल्लेख गर्दै सिमसार क्षेत्र हाम्रो कल्याणको केन्द्रबिन्दु भएकामा जोड दिए ।

मैदीताल संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षता तथामा सम्पन्न  कार्यक्रममा  पोखरा ३० का जनप्रतिनिधि विनोदप्रसाद लामिछाने, महाशाखा प्रमुख घनेन्द्रबहादुर खनाल, कार्यक्रम अधिकृत कमल लम्साल, ताल संरक्षण समितिकातर्फबाट गुदेताल संरक्षण समितिका सूर्यप्रसाद भण्डारी,फोकोफनका विश्वराज लामिछाने लगायतले बन षेत्रका समस्याका साथै सिमसारबाट मानिसले धेरै फाइदाहरू पाउँदा पनि हरेक दिन सिमसारमा मानिसले क्षति पुर्र्‍याइरहेको, सिमसार क्षेत्रहरू दिगो कृषि अभ्यासहरूद्वारा नष्ट भइरहेका, ढल निकास र इन्फिलिंगको माध्यमबाट सिमसार जग्गा क्षति भएका, सिमसार क्षेत्रहरू मानव गतिविधिहरूद्वारा प्रदूषित भएका, जलवायु परिवर्तन र बसोबासको वर्तमान प्रवृत्तिले  संरक्षणको लागि ठूलो खतरा निम्त्याएका जस्ता कुराहरु औंल्याएका थिए ।

सिमसारहरुको संरक्षण, व्यवस्थापन र पुनर्स्थापनामा जोड दिदै पोखरा ३० का जनप्रतिनिधिहरु, वडाध्यक्ष दुर्गा सुवेदी, पोखरा २९ की जनप्रतिनिधि सुमाया सुनार, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा ताल परिसर सरसफाई  समेत गरिएको थियो ।

रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदिशपुर जलाशय, बीसहजारी, ताल समूह, राराताल, शे–फुक्सुन्डो ताल, गोसाईकुण्ड ताल समूह, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ९ वटा ताल समूह गरी जम्मा १० वटा सिमसारहरु सूचीकृत भएका छन् भने यी सिमसार क्षेत्रहरुले ओगटेको कूल क्षेत्रफल ३०,५६१ हेक्टर राहेको छ । पोखराका तालहरु अन्तर्गत फेवाताल लगायत अन्य आठ वटा तानहरु बेगनास, रुपा, मैदी, दिपाड, खास्टे, कमलपोखरी, न्यूरेनी र गुदे तालहरु पर्दछन् ।

कार्यक्रममा  सिमसारको प्रकार अन्तर्गत नेपालमा नदी ४८ , ताल०.६,   जलाशय २ , तलाउ ९ , सिमान्त धाप ४८, सिञ्चित धान खेत ६ प्रतिशत  ओगटेका अनुमानित आँकडा रहेको जानकारी दिइएको थियो ।

अन्तराष्ट्रिय महत्वका सिमसारहरु खास गरी पानी हाँसको बासस्थान संरक्षणबारेको महासन्धिलाई चलन चल्तीमा रामसार महासन्धि भनिन्छ । २ फेब्ररुअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा सम्पन्न यस अर्न्तराष्ट्रिय महासन्धि सन् १९७५ देखि कार्यान्वयन हुन थालेको हो । हाल विश्वका १७२ वटा देशहरु यसमा आवद्ध रहेका छन् ।

रामसार महासन्धिले अन्तराष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारहरुलाई रामसारको सूचीमा सुचिकृत गर्ने गर्दछ। हालसम्म विश्वका २४३५ वटा सिमसारहरु रामसारको सूचीमा सुचिकृत भएका छन् ।  

विष्णुहरि पाैडेल

तपाईँको मत