गाउँ सहर

आरबीबी म्यानेजमेन्ट कन्फेरेन्स-२०२४ बैंकिङ्ग विकासको कोशेढुंगा 

सरकारको ९९.९८ प्रतिशत शेयर रहेको एक मात्र पूर्ण सरकारी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान र अन्य संयुक्त लगानीका बैंकमा दक्ष जनशक्ति तयार गरि आपुर्ति गरेको कुरामा कोही कसैले भुल्न सक्दैन । तथापी अर्थतन्त्रको विकासमा समग्र वैकिगं क्षेत्रको भुमिका उतिनै सह्रायिन छ ।  हालै यस वैकले  आरबीबी म्यानेजमेन्ट कन्फेरेन्स २०२४ को आयोजना गरि अर्थतन्त्रको वर्तमान समस्या र बैंकिङ्ग क्षेत्रको भूमिका एवं चुनौती जस्ता विषयमा राष्ट्रिय स्तरको छलफल चलाउनु आफैँमा गौरवको कुरा हो । यस्तो नयाँ सिर्जनात्तक कार्यबाट सबै क्षेत्रले विशेष गरि बैंकिङ्ग क्षेत्रले पाठ सिक्नु जरुरी एकातर्फ छ भने अर्कोतर्फ कार्यरत कर्मचारीले पनि आफुमा व्यवसायिकताको विकास गरि ग्राहक सम्बन्धलाई अब्बल बनाउन जरुरी भइसकेको छ । यो कार्यक्रमले दिएको सन्देश हेर्दा वित्तिय नीति र मौद्रिक नीतिका बाहक नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीच सुमधुर सम्बन्ध हुनुपर्दछ ।

बैंकिङ्ग क्षेत्रविरुद्ध अर्नगल प्रचार र अफवाह फैलाउनेलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्दछ । देशको अर्थतन्त्र चिन्ताजनक अवस्थावाट गुज्रिएको हुँदा स्रोत र साधनको उच्चतम परिचालन अनुशासित ढंगबाट गर्नु पर्दछ । आर्थिक मन्दिको अलावा देशको कुल ग्रार्हस्थ्य उत्पादनको हाराहारीमा कर्जा लगानी हुनु र कर्जाको अधिकांश अंश अनुत्पादनक क्षेत्रमा जानुले बैंकिङ्ग क्षेत्रमा कालोसूची बढेको र भाखा नाघेको कर्जा बढेको हो । बैंकिङ्ग क्षेत्रले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन ढीला गर्नु हुँदैन । पुँजी निर्माण गर्न विकास खर्च बढाउनु पर्दछ । बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई बैंकिङ्ग क्षेत्रको वर्तमान अवस्था एवम् चुनौती  र देशको अर्थव्यवस्थाको बारेमा बुझाउनु जरुरी छ । बैंकिङ्ग क्षेत्रका कर्मचारीमा नेतृत्व विकास र व्यवसायिक क्षमताको विकास गर्नु जरुरी छ । राष्ट्रिय वाणिज्य बैंकले जस्तै बैंकिङ्ग  क्षेत्रका सबै निकायले यस्तो कार्य गरेमा व्यवसायिकताको विकास हुने र कर्मचारी र ग्राहक सम्बन्धको समेत विकास हुने देखिन्छ र कर्मचारीमा नेतृत्व विकास हुन सक्छ जस्ता कुराहरु समाजमा प्रवाह गरेको छ । तसर्थ पनि (बैंक राष्ट्रिय वाणिज्य बैंक) 'आरबीबी म्यानेजमेन्ट कन्फेरेन्स -२०२४'  बैंक विकासको कोशेढुंगा हो भन्नुमा अत्युक्ति नहोला । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै आफ्ना देशै भरिका २८७ शाखाका प्रवन्धकहरुलाई समावेश गरेर राष्ट्रिय स्तरमा व्यवस्थापन सम्मेलन गरेको छ जहाँ अर्थमन्त्री, अर्थविद र बैंकिङ्ग क्षेत्रका ज्ञातासमेतको सहभागिता थियो । बैंक के हो र यसलाई कसरी संचालन गर्नु पर्दछ । वर्तमान आर्थिक अवस्था र बैंकिङ्ग क्षेत्रका चुनौती विषयक यस सम्मेलनले बैंकिङ्ग  क्षेत्रमा कार्यरत कर्मचारीमा नेतृत्व विकास कसरी गर्नु पर्दछ भन्ने कुरा पनि सिकाएको देखिन्छ ।

त्यसो त वित्तिय वजारमा अव्वल व्यक्ति तयार गरि आपूर्ति गर्ने कार्य समेत यस बैंकले विगत समयदेखि गर्दै आएको देखिन्छ । यस बैंकबाट अवकास प्राप्त व्यक्तिहरु अहिले पनि अधिकांश संयुक्त लगानीका बैंकहरुको नेतृत्वदायी भूमिकामा रहेको देखिन्छ । यसको स्थापना २०२२ माघ १० गते भएको । गत पौषसम्मको यो बैंकको स्वास्थ्य अवस्था हेर्दा कुल निक्षेप रु ३ खर्ब ३८ अर्ब, कुल कर्जा सापटी रु २ खर्ब ५६ अर्ब, निष्कृय कर्जा ३.६२ प्रतिशत, आधार दर ८.७० प्रतिशत, कोष लागत ६.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.४३ प्रतिशत, पहिलो ७ महिनाको तथ्यांक अनुसार अर्थात माघ मसान्तसम्म नाफा आर्जन गर्नेमा नविल बैंकपछि दोस्रो स्थानमा २ अर्ब ६८ करोड मुनाफा देखिन्छ । ्

७ वटा प्रदेशका ७७ जिल्ला मा शाखा विस्तार हुँदा कुल शाखा संख्या २८६ रहेको, १७ लाख मोबाईल प्रयोगकर्ता रहेको देखिन्छ। ७ लाख ५० हजार एटिएम कार्ड प्रयोगकर्ता, ३० हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता, १० हजार ब्राञ्चलेस बैंकिङ्ग प्रयोगकर्ता रहेको, बैंकमा हाल ४ हजार कर्मचारी कार्यरत रहेको, नेपाल सरकारका योजना र कार्यक्रम लाई कृषि, उर्जा, पर्यटन र उद्याेगमार्फत उच्च प्राथमिकता दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमार्फत सामाजिक, स्वास्थ्य, सिक्षा, वातावरणमा योगदान पुर्‍याएको, बैंकिङ्ग सेवालाई प्रविधिमैत्री बनाइएको, बैंकले ५ वर्षे रणनीतिक योजना २०२० देखि २०२५ बनाएको छ। आरबिबि मर्चेण्ट र आरबिबि सेक्युरिटीजको स्थापना, २०७५ मा नेपाल औद्याेगिक विकास कर्पोरेशनलाई गाभिएको, वित्तिय साक्षरतालाई जोड दिएको, नेपाल सरकारको ९९.९८ प्रतिशत शेयर रहेको छ । तुलनात्मक रुपमा सरकारका नीति तथा कार्यक्रमको निर्देशनको पालना गरि गरिवी निवारणमा प्राथमिकता कर्जा कार्यक्रम अन्तर्गत विपन्न वर्ग कर्जा, कृषि, पर्यटन, खेलकुदको क्षेत्र, विधुत उत्पादन लगायतमा यसले खेलेको भुमिका अविष्मरणिय देखिन्छ । 

बैंकिङ्ग क्षेत्रमा समस्याको चाङ्ग नभएको होइन तथापी नियम कानुनको पालना गरि सजगतापूर्वक कारोवार गरेमा समस्यालाई न्युनीकरण गर्न सकिन्छ । बैंकिङ्ग कारोवारमा साइवर सुरक्षा चुनौतीको रुपमा देखा परेको छ । जतिनै बजेटको विनियोजन यो क्षेत्रमा गरेता पनि अन्तराष्ट्रिय क्षेत्र समेत यसखालको जोखिमबाट अछुतो छैन । तथापी डिजिटलाईजेन विना ग्राहकको बदलिँदो इच्छा र आवश्यकता समेत पुरा गर्न कठिनाई छ । तरलता बढि भएको अवस्था र कर्जालगानीमा देखिएको न्युनताले अर्थतन्त्रमा थप दवाब परेको छ । व्याजदर कम हुदा पनि कर्जाको माग हुन नसक्नु एकातर्फ भने अर्कोतर्फ बढ्दो तरलता र यसको व्यवस्थापनमा देखिएको चुनौतिले पुँजी पलायन हुने त्रास पनि त्यतिकै छ ।

धेरैको बुझाई छ आन्तरिक अर्थतन्त्रमा आएको सिथिलताले कर्जा माग हुन सकेन भन्ने छ । भाखा नाघेको कर्जा एकातर्फ बढिरहेको छ भने अर्कोतर्फ कर्जाको माग कम हुँदा बैंकको नाफा समेत खुम्चिएको अवस्थामा राष्ट्रियस्तरमा अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएको समस्यालाई सम्बाेधन गर्दै यस बैंकले व्यवस्थापकीय सम्मेलन गर्नुले आम बैंकिङ्ग क्षेत्रका कर्मचारी देशको अर्थव्यवस्था र बैंकिङ्ग क्षेत्रको समग्रस्थितिको बारेमा सुसूचित गरेको कुरामा कसैको विमति नहोला । अर्थमन्त्रीले भने जस्तै बैंकबाट ऋण लिएपछि तिर्नु पर्दछ ।बैंकिङ्ग क्षेत्रविरुद्ध अनास्था र अफवाह फैलाउने कार्यले देशको अर्थतन्त्रलाई चुनौती दिएको छ । एक बेंक ढल्दा देश ढल्छ र देश ढल्दा परिवार ढल्छ भन्ने कुरा किन बिर्सेको ? सुशासनलाई हेर्ने हो भने नेपालको बैंकिङ्ग प्रणालीमा जस्तो राम्रो सुशासनको अवस्था तुलनात्मक रुपमा कहिँ कतै पाईँदैन भन्नेहरु मनग्य छन् । निर्दोष फस्नु हुँदैन दोषीले उन्मुक्ति पाउनुहुँदैन । बैंकिङ्ग क्षेत्रमा पनि यो कुरा लागु हुनु पर्दछ भन्नुमा कसैको दुइमत नहोला । (डा. बशिष्ठ बैंकिङ्ग क्षेत्रका विज्ञ हुन् ।) 

     
 
 
 
 

डा. दिबाकर बशिष्ठ

तपाईँको मत