अर्थतन्त्र

शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक १९.०४ अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ । 

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८६ हजार ६८५ पटकको कारोबारमा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको २ करोड २३ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९३ रुपैयाँ १० पैसा बढेर १ हजार २४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंककाे शेयरमूल्य करिब ८ प्रतिशत बढेकाे छ भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६९ करोड १ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४२ करोड नाघेको छ ।

केहिदिन यता तिब्र उतारचढाब देखिएको शेयर बजार अब विस्तारै उकालो लाग्ने विश्वास लगानीकर्तामा बढ्दै गएको छ । जसले गर्दा शेयर लगानीकर्ताहरु विस्तारै बैंकिङ समुहतर्फ सिफ्ट हुन थालेको बिहीबारको बजारले संकेत गरेकोछ । आजको बजारमा वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले झण्डै ४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने धारणा विभिन्न माध्यमबाट सार्वजनिक गरेकाले पनि यसको सकात्मक प्रभाव बजारमा देखिएको हो । उनले  बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गर्ने बताएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत