२२ जना सचिवको सरुवा, यी हुन १८ देशका लागि सिफारिस राजदूत
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | ०८:०३:०० मा प्रकाशित
काठमाडौं । सरकारले २२ जना सचिवको एकै पटक सरुवा गरेको छ भने १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा र राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ। अर्थ सचिवको रुपमा कार्यरत मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यलयमा सरुवा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ। यता श्रम मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
त्यस्तै, डेढ दर्जन मुलुकमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भारतमा शंकर शर्मालाई निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको हो । सरकारका एक मन्त्रीका अनुसार कांग्रेस–एमाले गठबन्धनद्वारा भागबन्डामा शर्मा कांग्रेसका तर्फबाट तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ओली र पूर्वमुख्य सचिव रेग्मी एमालेका तर्फबाट राजदूतमा सिफारिस भएका हुन् ।
मन्त्रिपरिषद्ले चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, श्रीलंकाका वासुदेव मिश्र, दक्षिण अफ्रिकाका दानबहादुर तामाङ, रुसका मिलन तुलाधर र अस्ट्रेलियाका राजदूत कैलाश पोखरेललाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ । श्रेष्ठ, मिश्र र तामाङ माओवादीबाट तथा तुलाधर र पोखरेल एकीकृत समाजवादीबाट सिफारिस भएका थिए ।
खाली रहेका ११ मुलुक, फिर्ता बोलाइएका ५ तथा तीन महिनापछि खाली हुनेसमेत गरी डेढ दर्जन मुलुकमा राजदूत सिफारिस गरिएको ती मन्त्रीले बताए । तीन महिनापछि राजदूत पद रिक्त हुन लागेको बेल्जियम, पाकिस्तान र जर्मनीमा पनि राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो । ती मन्त्रीका अनुसार कांग्रेसबाट जापानसहित ९ र एमालेबाट ८ तथा परराष्ट्र मन्त्रालयको करिअर राजदूततर्फबाट दुई जनालाई सिफारिस गरिएको हो ।
सूचीअनुसार बेलायतमा पूर्वसचिव चन्द्रप्रसाद घिमिरे, साउदी अरबमा नरेशविक्रम ढकाल (कतारका लागि पूर्वराजदूत), इजरायलमा पद्मकन्या क्याम्पसका पूर्वप्रमुख धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, दक्षिण कोरियामा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल (इजरायलका लागि पूर्वराजदूत), मलेसियामा नेत्र तिमिल्सिना, स्पेनमा सनिल नेपाल (पोर्चुगलका लागि पूर्वराजदूत) र श्रीलंकामा रामकृष्ण भट्टराई राजदूतमा सिफारिस भएका हुन् ।
यस्तै, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्क सुम्निमा तुलाधर र रुसमा जंगब चौहानलाई सिफारिस गरिएको छ । कतार र बेल्जियमका लागि सिफारिस भएकाको नाम भने खुलिसकेको छैन । पूर्ववर्ती दाहाल सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि असार ७ मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । तर, ओली सरकारले अघिल्लो सरकारबाट सिफारिस भएका राजदूतमा फेरबदल गरिदियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस