गाउँ सहर

भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा राहतका लागि ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरपालिकाको ५७औँ कार्यपालिका बैठकले खाद्यान्न, लत्ताकपडा, इन्डक्सनसहितका भाँडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, ग्यास सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायत आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापनको जिम्मेवारी विपद् व्यवस्थापन समितिलाई दिएको छ।

सहयोग रकममध्ये ३ करोड रुपैयाँ महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। बाँकी रकम कार्यपालिका सदस्यको एक महिनाको सुविधा, वडा सदस्यको पाँच दिनको सुविधा तथा शहरी योजना आयोगका पदाधिकारी र कर्मचारीको निश्चित अवधिको पारिश्रमिक तथा सुविधा रकमबाट संकलन गरिनेछ।

बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्धार भनेको जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्‍याउनु मात्र नभई उनीहरूको दैनिक जीवन सहज बनाउँदै पुनःस्थापनासम्मको काम भएको बताइन्। बाढीबाट प्रभावित विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका बिरामी तथा अन्य प्रभावितको आवश्यकताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बाढी आएको भदौ १० गतेदेखि महानगरपालिकाले खोज तथा उद्धार र मानवीय सहायताका लागि गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए। विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले समितिका निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी गराए।

विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भइरहेका कामबारे जानकारी गराएका थिए। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जोखिम व्यवस्थापनमा प्रहरी बलले गरेका कामबारे जानकारी दिए।

बैठकमा कार्यपालिका सदस्य बिमलकुमार होडा, चिनीकाजी महर्जन, मचाराजा महर्जन, मीना सुनार र हीरालाल तण्डुकारले प्रस्तावमाथि धारणा राखेका थिए। सदस्य तण्डुकारले आफ्नो कार्यकालमा प्राप्त हुने सबै सेवा–सुविधा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

महानगरपालिकाले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी तथा पेशाकर्मीलाई आफ्नो सामर्थ्यअनुसार विपद् व्यवस्थापनका लागि सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ। सहयोगको व्यवस्थापन तथा सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायता कक्ष सञ्चालन गरिनेछ।

यस्तै, बाढीबाट प्रभावित महानगरवासीको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउन राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गर्ने र सबै वडा कार्यालयबाट आवश्यक सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिइएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत