राजनीति

कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो समूहले भदौ १७ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको हो ।

बैठक सो समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस्ने भएको छ । बैठकमा १५ औँ महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेको हो।

देउवा समूहका १५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भएपनि मंसिरमा पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको अाधिकारितताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्गाउने र हामीले न्याय पाउने छौ भन्ने गहिरो विश्वास पनि रहेको छ।’

केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप विभाजन पुर्‍याउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्न आदेश नआए पनि चौथौँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिने छ।’

अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी गराएका छन्। विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।

गगनले असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत