दीपशिखा सामुदायिक पुस्तकालयमा पाठक अन्तरक्रिया, थप सुविधा विस्तार गर्न आग्रह
- विष्णुहरि पाैडेल
- १३ भदौ शनिबार, २०८३ | १८:१०:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका–२९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयले शनिबार पाठक अन्तरक्रिया तथा ‘पुस्तकालय सबैको गन्तव्य’ विषयक परिचर्चा सम्पन्न गरेको छ।
कार्यक्रममा हेटौँडा घर भई हाल पोखरा महानगरपालिका–३२, लामेआहालमा बस्दै आएका नियमित पाठक बेदप्रकाश शर्माले पुस्तकालयलाई समाजको गहनाका रूपमा लिँदै आफूले विगत तीन वर्षदेखि नियमित रूपमा पुस्तकालय प्रयोग गरिरहेको र यस अवधिमा करिब ३०० पुस्तक अध्ययन गरेको अनुभव सुनाए।
तालचोककी रमा भण्डारीले किताबलाई साथी बनाउने अवसर दीपशिखा सामुदायिक पुस्तकालयले प्रदान गरेको बताइन्। अर्की पाठक शोभा पौडेलले ज्ञानको क्षितिज फराकिलो बनाउन पुस्तकालय सहयोगी बनेको धारणा राखिन्।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य निर्मला पौडेलले पुस्तकालय सेवामूलक संस्था भएकाले सीमित साधन–स्रोतका कारण विविध समस्या रहे पनि पाठकको उल्लेख्य उपस्थिति रहनु महत्वपूर्ण भएको बताइन्।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र कोषाध्यक्ष माधव भण्डारीले सहभागी पाठकका जिज्ञासाको सम्बोधन गरेका थिए। कार्यक्रममा पाठकहरू कृष्ण थपलिया, विशाल ल्वागुन, सृष्टि पौडेल, पवन बोहोरा, अनु थापामगर र नवीन नेपालीलगायतले पाठकको चापलाई मध्यनजर गर्दै थप कोठा व्यवस्थापन गर्न तथा साँझ ५ बजेपछि पनि अध्ययन गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे।
औपचारिक कार्यक्रम नगरी सुरु गरिएको अन्तरक्रियामा पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, सहसचिव मिनकुमारी डल्लाकोटी, कार्यालय प्रमुख धनु पहारी तथा कार्यक्रम संयोजक विष्णुहरि पौडेललगायतले धारणा राखेका थिए।
शनिबार नै पोखरा महानगरपालिका–२० का भलाम र मौजा सामुदायिक सिकाइ केन्द्रको संयुक्त टोलीले दीपशिखा सिकाइ केन्द्रको अवलोकन गरेको थियो। भलाम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कृष्णप्रसाद पौडेल तथा मौजा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भीमबहादुर गुरुङको नेतृत्वमा आएको टोलीले दीपशिखाको गतिविधि र व्यवस्थापनबारे अन्तरक्रिया गरेको थियो।
रसुवामा आएको बाढीबाट उत्पन्न असहज परिस्थितिका कारण ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने आदर्श वाक्यका साथ भदौ १५ गते मनाइने १९औँ पुस्तकालय दिवसका कार्यक्रमको स्वरूपमा परिवर्तन गरिएको अध्यक्ष कृष्णहरि भण्डारीले बताए। यस वर्ष प्रभातफेरी र दीप प्रज्ज्वलन कार्यक्रम नगर्ने निर्णय गरिएको उनले जानकारी दिए।
उनका अनुसार भदौ १४ गते माध्यमिक तह (कक्षा ९–१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरी पुस्तकालय दिवसका कार्यक्रम समापन गरिनेछ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५औं महाधिवेशन
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
प्रतिकृया दिनुहोस