सत्ता पक्ष र विपक्षीकाे बन्धकमा प्रतिनिधिसभा बैठक
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | ०६:५७:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक १० दिनदेखि बस्न सकिरहेकाे छैन । पटकपटक बस्न नसकेको बैठक कहिले सुचारु हुन्छ निश्चित छैन ।
आइतबारका लागि बोलाइएको बैठक पनि बस्न सकेन । आज सोमबार पनि दिउँसाे २ बजेका लागि बोलाइएको छ तर बस्ने नबस्ने टुंगाे छैन ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ । संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी केही लचक भए पनि रास्वपाले भने मानेको छैन ।
सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ ।
संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन ।
आज बैठकमा अवरोध नभए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभामुखले पेलेरै अघि बढाए संसद (लाइभ)
- नेपालबाट व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
- बेलिब्रिज खस्दा पाँचथरमा घाइते भएका तीन मजदुरको मृत्यु
- आज ल्याउँदैछन् सातै प्रदेशले वार्षिक बजेट
- संसदमा रास्वपा र राप्रपाकाे बिराेधबीच सञ्चालन (लाइभ)
- राष्ट्रिय सभा बैठकमा छलफल जारी (लाइभ)
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
प्रतिकृया दिनुहोस