संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
- गाउँ सहर संवाददाता
- २८ जेठ बुधबार, २०८२ | ०७:२६:०० मा प्रकाशित

काठमाडौं । संवैधानिक निकायमा ५२ पदाधिकारी ‘असंवैधानिक’ तरिकाले नियुक्त भएको जिकिरसहित चार वर्षअघि परेको रिटमा सर्वोच्च अदालतले आज फैसला गर्दै छ ।
संवैधानिक अंगमा विसं. २०७७ मंसिरमा ३२ जना र ०७८ वैशाखमा २० जना पदाधिकारी नियुक्तिका निम्ति सिफारिस भएका थिए । उनीहरूले संसदीय सुनुवाइबिनै ४५ दिनपछि नियुक्ति पाएका थिए । सोही विषयमा परेको रिटमा सर्वोच्चले फैसला सुनाउने मिति आजलाई तोकेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । परिषद् बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सामेल थिए ।
संविधानविपरीत जारी अध्यादेशका आधारमा बोलाइएको संवैधानिक परिषद्को बैठक तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए ।
संविधानतः संसदीय सुनुवाइ नगरी पदाधिकारी नियुक्ति गरेपछि तिनको योग्यता, क्षमता र दक्षतामा पनि प्रश्न उठ्दै आएको छ । ती दुवै नियुक्तिविरुद्ध तत्कालै रिट परे पनि परिषद्कै एक सदस्य तत्कालीन प्रधानन्यायाधीश राणाले रिट अघि बढ्न दिएनन् ।
संवैधानिक नियुक्तिको भागबन्डामै राणाले भतिजासँगै ‘पीए’कै आमालाई समेत नियुक्त गरेका थिए । राष्ट्रियसभाका तत्कालीन अध्यक्ष तिमिल्सिनाले भाइलाई नियुक्ति दिलाएपछि विवादित बनेका थिए ।
आफैँ भागबन्डामा संलग्न तत्कालीन प्रधानन्यायाधीश राणाले रिटविरुद्ध अनेकन ‘षड्यन्त्र र जालझेल’ गरेको भन्दै नियुक्तिको निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले रिट दायर गरेका थिए ।
रिटमा फैसला नहुँदै ३२ पदाधिकारीको चार वर्षे कार्यकाल गत माघ २१ मा सकिसकेको छ । बाँकी २० पदाधिकारी पनि चार वर्षनजिकको कार्यकालमा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
प्रतिकृया दिनुहोस