खेल

नेपालले बल्ल बल्ल स्कटल्याण्डलाई हरायो

  • ३ असार मंगलबार, २०८२ | २२:५९:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई बल्ल बल्ल २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो ।

स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २-२ अंक छ ।

मंगलबार डन्डीस्थित टिटवुडमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिए । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल एक समय ३८-३ को स्थितिमा पुगेको थियो । नेपालले तेस्रो ओभरमा ओपनर लोकेश बमलाई ९ र चौथो ओभरमा अनिल साहलाई ३ रनमा गुमाएको थियो । कप्तान रोहित ७ रन जोड्दै आठौं ओभरमा आउट भएका थिए ।

कुशल १३ औं ओभरको पहिलो बलमा मार्क वाटको एलबीडब्लु धरापमा पर्दा नेपाल ६०-४ को स्थितिमा पुग्यो । उनले ३५ बलमा ४ चौका प्रहार गरे ।

जास्पर डेभिडसनले फ्याँकेको १५ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी १४ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बलपछि बासिर अहमद पनि पेभेलियन फर्किए । १३ रन जोडेका उनलाई माइकल लिस्कले आफ्नै बलमा सानदार क्याच गरेपछि नेपाल ७७-६ को स्थितिमा पुग्यो ।

लिस्कले १८ औं ओभरमा आफ्नो स्पेलको अन्तिम बलमा रुपेश सिंहलाई क्याच आउट गराए । लामो सट खेल्ने धुनमा ६ रन जोडेका किरण सफियान सरिफको हातबाट समातिए ।

किरण ठगुन्ना १६ बलमा १० रन जोडेर आउट भए । ३ बलमा जितका लागि १ रन आवश्यक पर्दा छक्का हान्न खोजेका उनी क्याच आउट भएका थिए । करण केसी ३ रनमा नटआउट रहँदा सन्दीप लामिछानेले पहिलो बलमै विजयी सिंगल लिए ।

स्कटल्याण्डका माइकल लिस्क र सफियान सरिफले २-२ तथा ब्रेन्डन मक्मलेन, ज्याक जार्भिस, मार्क वाट र जास्पर डेभिड्सनले १-१ विकेट लिए ।

त्यसअघि नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।

 

स्कटल्याण्डका लागि माइकल लिस्कले सम्मानजनक योगफलसम्म पुर्याएका थिए । अन्तिम ओभरमा दीपेन्द्रबाट बोल्ड हुनुअघि लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए ।

टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो । पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले बायाँ हाते ओपनर मार्क वाटलाई बोल्ड गरेका थिए ।

लगत्तै अर्को ओभरको तेस्रो बलमा जर्ज मुन्से करणको बलमा दीपेन्द्रबाट क्याच आउट भए । यो करण केसीको १ सयौं टि२०आई विकेट पनि थियो । लगत्तै अर्को बलमा लियाम नेलर लोकेश बमको थ्रोमा रनआउट भएपछि स्कटल्याण्ड १०-३ को अवस्थामा पुग्यो ।

चौथो ओबर्को चौथो बलमा करणले फिन्ले मक्रिथलाई पनि क्याच आउट गराए । पाँचौ ओभरमा ललित राजवंशीले ब्रेन्डन मक्मलेनको विकेट लिएपछि घरेलु टोली २४-५ को दयनीय अवस्थामा पुग्यो ।

पाँचौ विकेटका लागि माइकल लिस्क र कप्तान म्याट क्रसले संयमित ब्याटिङ गर्दै ३९ रनको साझेदारी गरे । तर १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले कप्तान क्रसलाई १५ रनमा बोल्ड गरे । लगत्तै क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए । उनले उक्त ओभरमा मेडन समेत राखे ।

स्कटल्याण्डको आठौं विकेट पनि सन्दीपकै नाममा रह्यो । उनले १७ औं ओभरमा सफियान सरिफलाई गुगली फ्याँक्दै एलबीडब्लु धरापमा परे । सरिफले १४ बलमा ६ रन बनाएका थिए । त्यसको २ बलपछि नै उनले ज्याक जार्भिसलाई बोल्दै गर्दै स्कटल्याण्डलाई ८१-९ को स्थितिमा पुर्याए ।

समग्रमा नेपालका लागि करण र दीपेन्द्रले २-२ तथा ललितले १ विकेट लिए ।

सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । स्कटल्याण्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

तपाईँको मत