दृष्‍टिकोण

तेस्रो विश्वयुद्धको छायाँ : इतिहास, वर्तमान र सम्भावना

आज जुन २०२५ मा हामी फेरि एकपटक यस्तो मोडमा आइपुगेका छौं, जहाँ एउटा सानो क्षेत्रीय द्वन्द्वले सम्पूर्ण विश्वलाई युद्धको डरलाग्दो मोडमा पुर्‍याउने खतरा बोकेको छ।इजरायल, इरान र अमेरिकाबीचको पछिल्लो टकरावलाई लिएर विश्लेषकहरू भन्छन् - 'यो कुनै सामान्य तनाव होइन, बरु ऐतिहासिक
विस्फोटको सम्भावित प्रारम्भ हो।'

इरान र इजरायलबीचको दुश्मनी नयाँ होइन। इजरायलको स्थापना ९१९४८० पछि मुस्लिम मुलुकहरूसँगको शत्रुताले निरन्तरता पाइरहेको छ, तर इरानसँगको टकराव खास गरी सन् १९७९ को इरानको इस्लामी क्रान्तिपछि थप चर्किएको हो। त्यसपछि इरानले इजरायललाई “शत्रु राष्ट्र” घोषित गर्‍यो, र इजरायलले पनि इरानको आणविक महत्वाकांक्षालाई सधैं खतराका रूपमा व्याख्या गर्दै आएको छ। अमेरिकाले इजरायलको साथ दिँदै इरानमाथि समय-समयमा कठोर प्रतिबन्ध लगाएको छ। २०१५ मा भएको इरान आणविक सम्झौताबाट ट्रम्प प्रशासनले सन् २०१८ मा बाहिरिँदा तनाव अझै चर्कियो।

यो सबै द्वन्द्व पुनः चर्किएको हो जुन १३, २०२५ मा जब इजरायलले इरानका विभिन्न आणविक र सैन्य संरचनाहरूमा ठुलो हवाई आक्रमण गर्‍यो। इजरायलले यो कदम ‘आत्मरक्षा’ भनेर व्याख्या गर्‍यो भने इरानले यसलाई 'युद्ध घोषणा' को रूपमा लियो। त्यसपश्चात, जुन २२ मा अमेरिका पनि युद्धमा होमियो। 'Operation Midnighr Hammer' अन्तर्गत अमेरिकी वायुसेनाले इरानका आणविक ठाँउहरूमा अत्यन्त उच्च-प्रविधियुक्त बमबारी गर्‍यो। यो कारबाहीमा अमेरिकी यूएवी, क्रूज मिसाइल र साइबर युद्ध प्रविधिकोसमेत प्रयोग भएको खबर आएको छ।

इरानले जवाफस्वरूप जुन २३ मा कतार र इराकमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रहार गर्‍यो। यद्यपि  प्रारम्भिक जानकारी अनुसार क्षति कम रहेको बताइएको छ, विश्लेषकहरू यसलाई 'सावधानीपूर्वक गरिएको सन्देशात्मक जवाफ' मानिरहेका छन् - जसले पूर्ण युद्धको सट्टा सीमित प्रतिकार संकेत गर्दछ।

विश्वका ठूला शक्तिहरूले यो स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। रूसका राष्ट्रपति पुटिनले यस घटनाक्रमलाई ‘विश्वयुद्धको सम्भावित आगो’ भनेका छन्। चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली संघले शान्ति वार्तामा जोड दिएको छ। बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले अमेरिका र इजरायलको समर्थन गर्दै भनेका छन्, 'इरानलाई आणविक हतियार बनाउन दिनु भनेको सिंगो क्षेत्रलाई विस्फोटक बनाउनु हो।'

अबको परिस्थितिमा सबैभन्दा निर्णायक पक्ष भनेको इरानको अर्को चाल हुनेछ। यदि इरानले सम्पूर्ण शक्तिका साथ प्रतिकार गर्ने निर्णय लिन्छ भने यो द्वन्द्व यमन, लेबनान, सिरिया, इराक हुँदै सिङ्गो मध्यपूर्वमा फैलन सक्छ। हिज्बुल्ला, हूथी, र इराकी मिलिशियाहरू जस्ता इरान- समर्थित समूहहरूले इजरायल र अमेरिकाविरुद्ध खुला मोर्चा खोल्ने संभावना प्रबल छ। यस्तो अवस्थामा अमेरिका र उसका गठबन्धन राष्ट्रहरू - जस्तै बेलायत, फ्रान्स, साउदी अरेबिया, युएई - पनि प्रत्यक्ष रूपमा युद्धमा तानिन सक्छन्। यदि रूस वा चीनले पनि कूटनीतिक हैन, सैनिक हस्तक्षेप गर्‍यो भने यो द्वन्द्व 'तेस्रो विश्वयुद्ध' को रूपमा विश्व इतिहासमा अंकित हुनेछ।

तर अर्को सम्भावना पनि छ -यदि अन्तर्राष्ट्रिय कूटनीति बलियो बन्यो, यदि संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, र अन्य शक्तिहरूले तत्काल वार्ताको वातावरण बनाए भने यो संकटलाई नियन्त्रण गर्न सकिन्छ। इरानले यदि रणनीतिक रूपमा क्षमाशील निर्णय गर्‍यो भने पनि शान्तिको सम्भावना जीवित छ।

अहिले हामी यस्तो चरणमा छौं जहाँ एउटा राष्ट्रको निर्णयले करोडौं मानिसको भविष्य निर्धारण गर्न सक्छ। तेस्रो विश्वयुद्ध हालसम्म सुरु भइसकेको छैन, तर त्यसको छायाँ विश्वमाथि गडगडाइरहेको छ। इतिहासले देखाएको छ - जब युद्ध सुरु हुन्छ, त्यसलाई रोक्न निकै गाह्रो हुन्छ। तर जब शान्ति खोजिन्छ, त्यसको मार्ग सधैं खुला हुन्छ - यद्यपि कठिन र लामो हुन्छ। अहिले समय हो - संयमता अपनाउने, कूटनीतिक प्रयासलाई प्राथमिकता दिने, र मानवताको पक्षमा उभिने।

संकट कसरी चर्किँदै गयो ?

इजरायलको अचानक आक्रमण र त्यसपछिको अमेरिकाको सहभागीता यस विवादलाई तीव्र बनाएको छ। इरानले आफ्नो सुरक्षा र स्वतन्त्रताको रक्षा गर्ने प्रयासमा प्रतिक्रिया दिँदै क्षेत्रीय मञ्चमा तनाव बढाएको छ। यसले मध्यपूर्वका देशहरूलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेटेर क्षेत्रीय द्वन्द्वलाई विश्वव्यापी समस्या बनाउने जोखिम उत्पन्न गरेको छ। हिज्बुल्ला, हूथी र अन्य मिलिशियाहरूले पनि आफ्नो समर्थन देखाउँदा द्वन्द्वले व्यापकता लिन सक्ने खतरा छ।

संकट समाधानका उपायहरू
१. तत्काल युद्धविराम र संयमता अपनाउनु

संकटको उच्चतम सीमामा पुग्न नदिने सबै पक्षको साझा सहमति अपरिहार्य छ। युद्धविरामको घोषणाले तत्काल मानवीय क्षतिबाट बचाउन मद्दत पुर्‍याउनेछ।

२. कूटनीतिक वार्ता पुनः सुरु गर्नु

आणविक सम्झौता (JCPOA) पुनः सक्रिय गराएर विश्वसनीय निगरानी लागू गर्नुपर्छ। यसले दुवै पक्षलाई आफ्नो प्रतिबद्धता प्रदर्शन गर्ने मौका दिनेछ र तनाव घटाउनेछ।

३. क्षेत्रीय सुरक्षा संरचना तयार पार्नु

मध्यपूर्वका सबै देशहरूलाई समेटेर सुरक्षा र आपसी विश्वास बढाउने दीर्घकालीन योजना आवश्यक छ। यसले क्षेत्रीय स्थिरता र शान्तिको आधार तयार गर्नेछ।

निष्कर्ष

यो संकटले हामीलाई सम्झायो कि शान्ति संरक्षण गर्ने प्रयास कहिले पनि निस्तेज नहोस्। युद्धका विकल्पहरू खोज्नुपर्छ र सबैले संयमता देखाउनुपर्छ। यदि अहिलेको तनावलाई सही ढंगले व्यवस्थापन गरियो भने विश्वलाई ठूलो विनाशबाट बचाउन सकिन्छ। (अधिकारी संकट व्यवस्थापनमा स्नातकोत्त हुन् ।)

तपाईँको मत