के भनिन् पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले कार्की वैक्वेटमा
- गाउँ सहर संवाददाता
- ९ श्रावण शुक्रबार, २०८२ | १९:०३:०० मा प्रकाशित

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू अहिले पनि एमालेमै रहेको बताएकी छन् । राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि विधिपूर्वक पार्टीको सदस्यता नवीकरण गरेको उनले भनेकी छन् ।
‘मैले सफलता पूर्वराष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि बाँकी जीवन देशका लागि लगाउने उद्देश्यले मातृ पार्टी नेकपा एमालेको सदस्यता नवीकरण गरेकी हुँ,’ शुक्रबार काठमाडौंकाे कार्की वैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘मैले विधिपूर्वक नवीकरण गरेको हुँ । केही व्यक्तिको हुलहुज्जत र उत्तेजनाको भरमा निर्णय हुँदैन । पार्टीको पनि आफ्नो विधि प्रक्रियाहरू हुन्छन् । एउटा प्रणालीमा चल्छ ।’
कसैलाई कति खेर के मन लाग्यो, त्यसै अनुसार निर्णय गर्नु राम्रो नभएको भन्दै उनले आफै एमालेको पार्टी जीवनमा पुनः आइसकेको दाबी गरिन् । पार्टीको निर्णयबाटै आफू राष्ट्रपति भएको भन्दै फर्केपछि विधिअनुसारै सदस्यता नवीकरण गरेको उनले प्रस्ट्याइन् ।
गत मंगलबार एमाले केन्द्रीय समितिले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । पार्टीको उक्त निर्णयबारे प्रतिक्रिया दिन भण्डारीले पत्रकार सम्मेलन गरेकी हुन् । ‘जब म पार्टीमा आबद्ध बनेर अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ,’ उनले भनिन्, ‘पार्टी सदस्य भएको ४५ वर्ष भयो । मलाई मदन भण्डारीले पार्टी सदस्यको शपथ खुवाउनु भएको थियो । कसैलाई लाग्यो भन्दैमा, मेरो सदस्यता कसैले खानसक्छ जस्तो लाग्दैन ।’
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा गत असार १४ गते काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिमा क्रियाशील हुने घोषणा गरेकी थिइन् । उनको त्यो घोषणासँगै एमालेभित्र र बाहिर राष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा आउन हुने/नहुने विषयको बहस बढेको छ । एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीका रूपमा उनको चर्चा बढ्यो । पार्टी नेताहरुको ध्रुवीकरण हुन थालेको थियो । त्यही क्रममा केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष ओलीले राष्ट्रपति भइसकेका भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय सुनाए ।
पत्रकार सम्मेलनमा भण्डारीले भनिन्. ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्नुपर्ने विषय होइन ।’ बैठकको अघिल्लो दिन ओलीसँग भेटेर आफूले विधिसम्मत ढंगले सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्न चाहेको जानकारी गराएको उनले उल्लेख गरिन् । ‘पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो,’ उनले भनिन्, ‘त्यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा विज्ञप्तिबाट थाह पाएँ ।’
संविधान, ऐन, कानुन र पार्टीको मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर गरिएको अपरिपक्व निर्णयले आफूलाई दुःखित बनाएको उनले भनेकी छन् । आवेग र उत्तेजनाका भरमा त्यस्तो निर्णय गरिएको उनले उल्लेख गरिन् । उनले निर्णय प्रक्रियाप्रति प्रश्न उठाएकी छन् । आफूलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न नमिल्ने बताइन् । ‘आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए तापनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन,’ उनले भनिन्, ‘पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’
पार्टीका पूर्वउपाध्यक्षका हैसियतमा पत्रकार सम्मेलन गरेकी उनले आफू एमालेमै रहेको र आफ्नो सदस्यता कायम रहेको दाबी गरे पनि आगामी यात्रा वा रणनीतिबारे केही खुलाइनन् ।
उनले राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार रहेको भनेकी छन् । ‘राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन,’ उनले भनिन्, ‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । कहींकतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन ।’ संवैधानिक सर्वोच्चता र विधिको शासन प्रतिकूल हुने गरी पार्टी सदस्यबाट आफूलाई बञ्चित गर्नुपर्ने कुनै कारण नरहेको उनले दाबी गरेकी छन् ।
उनले जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका कार्यकर्तालाई आह्वान गरेकी छन् । ‘मेरो यो आग्रह र संकल्प अन्तर्आत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन,’ उनले भनिन्, ‘म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान गर्दछु ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटको स्वतन्त्र संचालकमा बैंकर कुँवर नियुक्त
- प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
- दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
- प्रहरीले अबदेखि आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
- आम्दानीको स्रोत बन्दै ‘अकबरे’
- प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
- शेयरबजार : उकालाे यात्रा निरन्तर
- नेपालबाट विदेश निर्यातमा रेकर्ड, के भयो अत्यधिक आयात-निर्यात ?
- भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निर्णय, म रोकिन्नँ : विद्या भण्डारी
- प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिकृया दिनुहोस