विद्युत

विद्युत् प्राधिकरणको नाफामा गिरावट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८१–८२ मा भएको विद्युत उत्पादन, खपत र निर्यातको तथ्यांक सार्वजनिक गरेको छ । ४० औं वार्षिकोत्सवका अवसरमा आइतबार सार्वजनिक गरिएको प्रगति विवरणअनुसार प्राधिकरणको नाफा अघिल्लो आवको तुलनामा घटेको छ ।

गत आवसम्म राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । यो अघिल्लो आवको भन्दा ४३४ मेगावाट बढी हो । अघिल्लो आव २०८०–८१ मा कुल जडित क्षमता ३ हजार १५७ मेगावाट थियो । थपिएको विद्युतमध्ये प्राधिकरणको सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने निजी क्षेत्रको योगदान २८०.५ मेगावाट रहेको छ । कुल जडित क्षमतामा निजी उत्पादकको हिस्सा २ हजार ९२९ मेगावाट छ ।

आव २०८१–८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको छ । यसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।

त्यस्तै, नेपालको आन्तरिक विद्युत खपत अघिल्लो आवको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । भारततर्फ भएको विद्युत निर्यात अघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई २ हजार ३८० गिगावाट घण्टा पुगेको छ । सोही अवधिमा नेपालले १ हजार ७१२ गिगावाट घण्टा विद्युत आयात गरेको छ । आव २०८१–८२ मा नेपालबाट ६६८ गिगावाट घण्टा खुद विद्युत निर्यात भएको छ । गत आवमा प्राधिकरणको प्रणालीमा सर्वाधिक माग १८ असार २०८२ मा २ हजार ९०१ मेगावाट रेकर्ड गरिएको छ । त्यसमध्ये २ हजार २१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो ।

आर्थिक वर्ष २०८१–८२ मा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ लाख १० हजार पुगेको छ । यसमा सामुदायिक ग्रामीण विद्युतीकरण मार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकलाई समावेश गरिएको छैन । आव २०८०–८१ मा उपभोक्ता संख्या ५४ लाख ६० हजार पुगेको थियो । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९१.०८ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२३ प्रतिशत तथा अन्य ग्राहकको हिस्सा ७.६९ प्रतिशत रहेको छ ।

राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशतमा पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ । विद्युत चुहावटमा ०.४७ प्रतिशतले कमी आई आव २०८१–८२ मा १२.२६ प्रतिशत कायम भएको छ । प्राधिकरणको औसत विद्युत बिक्री प्रतिग्राहक १ हजार ८७३ युनिटबाट वृद्धि भई आव २०८१–८२ मा प्रतिग्राहक १ हजार ९७८ युनिट पुगेको छ ।

नाफा ३७ प्रतिशत घट्यो
आव २०८१–८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आव २०८०–८१ को तुलनामा ३७.३२ प्रतिशतले न्यून हो । अघिल्लो आपमा खुद नाफा १३ अर्ब ३० करोड रुपैयाँ थियो ।

प्राधिकरणले नाफा घट्नुमा ब्याज खर्च, ह्रास कट्टी खर्च, वैदेशिक विनिमयमा भएको नोक्सानी लगायतका कारण रहेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१–८२ को कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको छ । यो आम्दानीमा मुख्यगरी विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड १० लाख र विद्युत बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ भएको छ । यो आव २०८०÷८१ को तुलनामा ८.४६ प्रतिशतले बढी हो ।

अर्कोतर्फ आव २०८१-८२ मा प्राधिकरणको कुल सञ्चालन खर्च अघिल्लो आवको दाँजोमा १०.१५ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७८ करोड ७० लाख पुगेको छ । विद्युत खरिद बापतको मात्र खर्च आव २०८०-८१ को तुलनामा ११.७३ प्रतिशतले वृद्धि भई ७७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अन्य मुख्य खर्चहरूमा उत्पादनतर्फ २ अर्ब ७ करोड, प्रसारणतर्फ ३ अर्ब २४ करोड, वितरणतर्फ १२ अर्ब २२ करोड र रोयल्टीतर्फ १ अर्ब ८४ करोड रहेको छ । यीलगायत आव २०८१-८२ को कुल खर्च १ खर्व २९ अर्व ८१ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको प्रणालीमा कुल २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भई प्रसारण लाइनको कुल लम्बाइ ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । प्रसारण सबस्टेसन क्षमता गत आवमा १ हजार ७३ एमभिए थप भई कुल १४ हजार १२३ एमभिए पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत