बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- गाउँ सहर संवाददाता
- ८ कार्तिक आइतबार, २०८३ | ०७:१०:०० मा प्रकाशित
काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराई बताउँछन् ।
माता दुर्गाका तीन वटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । आकाशदीपदान पनि सोमबार साँझदेखि नै सुरु गरिँदै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
प्रतिकृया दिनुहोस