गाउँ सहर

दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी

काठमाडौँ। विजयादशमीको दिनदेखि सुरु भएको बडादशैँको टीका लगाउने क्रम आज त्रयोदशीका दिन पनि जारी छ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट आफन्तको घर पुगिरहेका छन्।

बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस दिनलाई दशैँको टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ। यद्यपि, भौगोलिक दूरी तथा विभिन्न व्यस्तताका कारण विजयादशमीकै दिन माइती, मावली र अन्य आफन्तकहाँ पुग्न नसक्नेहरू त्यसपछिका दिनमा पनि टीका थाप्न जाने गर्छन्।

नेपाली समाजमा दशैँको टीका लगाउने परम्परा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म कायम रहने चलन छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन्।

दशैँको टीका र जमरा केवल धार्मिक तथा सांस्कृतिक परम्परामा सीमित छैनन्। यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, प्रेम र एकताको सन्देशसमेत दिने गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत