भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- गाउँ सहर संवाददाता
- ६ कार्तिक शुक्रबार, २०८३ | १९:१३:०० मा प्रकाशित
भक्तपुर। ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। भक्तपुर नगरपालिका–७ गोल्मढीको याता क्षेत्रमा आयोजित सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ।
सम्मेलनको उद्घाटन साहित्यिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गर्नुभएको थियो। बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। दुई दिन र दुई रातसम्म सञ्चालन हुने यस सम्मेलनलाई आयोजकले नेपालको ऐतिहासिक साहित्यिक सम्मेलनका रूपमा लिएको छ।
सम्मेलनमा साहित्य वाचन, विज्ञहरूका विचार तथा मन्तव्य, साहित्यकार र कलाकारहरूको सम्मान एवं समसामयिक सामाजिक विषयमा छलफललगायत कार्यक्रम समावेश छन्। परम्पराअनुसार दिउँसो साहित्यिक गतिविधि र साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएको आयोजकले जनाएको छ। सम्मेलनले साहित्यलाई सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यमका रूपमा अघि बढाउने प्रयास गरेको छ।
पहिलो चरणमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो। साथै विभिन्न क्षेत्रका विज्ञ तथा वक्ताहरूले भाषा, साहित्य, राजनीति, कूटनीति, कानुन, पत्रकारिता र जलस्रोतलगायत विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रत्न भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ, हरिहर तिमिल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायतले मन्तव्य व्यक्त गरेका थिए। साहित्यिक कार्यक्रमका बीच गीत–सङ्गीतमार्फत सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।
सम्मेलनमा प्रतियोगितात्मक साहित्य वाचनका साथै अतिथि साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए। साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो।
नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३७ सालदेखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउँदै आएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको यस सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेखन, सिर्जना र सार्वजनिक प्रस्तुति गर्न प्रोत्साहित गर्दै आएको छ।
भक्तपुरका विभिन्न वडा तथा टोलमा प्रत्येक वर्ष आयोजना हुँदै आएको सम्मेलनमा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई पनि स्थान दिइँदै आएको छ। प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ लेखक, कवि तथा कलाकारलाई प्रोत्साहित गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
आयोजक समितिका अध्यक्ष उकेश कवांका अनुसार सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।
कार्यक्रममा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी तथा वि.सं. २०८२ सालको मदन पुरस्कार प्राप्त ‘मुकुन्डो’ पुस्तकका लेखकलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मेलनका अवसरमा ‘तःमुंज्या’ नामक स्मारिकाको विमोचनसमेत गरिएको थियो।
कार्यक्रमको पहिलो दिनको सभापतित्व इभा कंसाकारले गर्नुभएको थियो भने दोस्रो दिन शनिबारको सभापतित्व वसन्त महर्जनले गर्ने जनाइएको छ।
नेपालभाषा र साहित्यको प्रवर्द्धनसँगै विविध सांस्कृतिक अभिव्यक्तिलाई साझा मञ्च प्रदान गर्दै आएको तःमुंज्याले भाषा, संस्कृति र सामाजिक चेतनाको विकासमा आफ्नो भूमिका निरन्तर अघि बढाउँदै आएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
प्रतिकृया दिनुहोस