प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बुधबार, २०८३ | ०८:०१:०० मा प्रकाशित
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् ।
उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । हरेक नागरिकलाई सरकारले आफ्ना लागि काम गरिरहेको छ भन्ने अनुभूति गराउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उल्लेख गरेका छन् ।
उनले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साट्नसमेत अपिल गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री शाहको पूरा शुभकामना सन्देश :
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
आज विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा उत्सव मनाउने दिन हो । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो । आजकै दिन भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गर्नुभएको मानिन्छ ।
यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
आज विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ । आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ ।
विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ । आजको दिनमा आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन तथा हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ । इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ ।
यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न तथा वर्षौँदेखि छुट्टिएका साथीभाइ र आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिन्छ ।
अन्त्यमा, आआफ्नो ठाउँबाट आआफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ । सद्भाव, एकता, सम्मान र माया आपसमा साटौँ ।
जय दुर्गा भवानी !
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
प्रतिकृया दिनुहोस