देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बुधबार, २०८३ | १९:५१:०० मा प्रकाशित
काठमाडौँ। बडादसैँको मुख्य दिन आज देशभर विजया दशमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नेपाली हिन्दू धर्मावलम्बीले मान्यजनबाट देवी दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी पर्व मनाएका हुन्।
आज बिहान १० बजेर २६ मिनेटको उत्तम साइतमा टीका लगाएर दसैँ मनाइएको छ। विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत कुर्नैपर्ने बाध्यता नरहेको धार्मिक मान्यतासमेत छ।
आश्विन शुक्ल दशमीका दिन मनाइने विजया दशमीमा गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बुबाआमा तथा अन्य मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने परम्परा छ। यस अवसरमा संस्कृतका मन्त्र तथा ऋचा उच्चारण गर्दै सुख, समृद्धि, यश, ऐश्वर्य, दीर्घायु र सफलताको कामना गरी आशीर्वाद लिने गरिन्छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार राखिएको जमरा समृद्धि र शुभताको प्रतीकका रूपमा टीकासँगै लगाउने चलन छ। विजया दशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्नुका साथै दक्षिणा लिने–दिने परम्परासमेत रहिआएको छ।
दसैँमा लगाइने टीकाको रङ पनि समुदाय र क्षेत्रअनुसार फरक हुने गरेको छ। धेरैले रातो टीका लगाउने गरे पनि विभिन्न समुदायमा सेतो, पहेँलो तथा अन्य रङका टीका लगाउने प्रचलन छ। राई, लिम्बू, मगर, थारू, तामाङ र गुरुङ समुदायका कतिपयले अबिर वा केशरी नमिसाइएको सेतो टीका लगाउने गरेका छन्।
आज टीका लगाउन नभ्याउनेहरूले कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने परम्परा पनि छ। यसरी विजया दशमीदेखि पूर्णिमासम्म आफन्त तथा मान्यजनसँग भेटघाट गर्ने, आशीर्वाद लिने र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने गरिन्छ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजया दशमी मनाइन्छ। धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेका थिए। यही विजयको स्मरणमा विजया दशमी मनाउने परम्परा सुरु भएको मानिन्छ।
विजया दशमी नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
प्रतिकृया दिनुहोस