खेल

आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त

आईसीसीको मान्यता, डीआरएस प्रविधि र विश्व क्रिकेटका स्टार खेलाडीको आगमनले तेस्रो संस्करण थप रोमाञ्चक

काठमाडौँ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्रिकेटप्रेमीको प्रतीक्षामा रहेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुवै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुने तालिका छ । उद्घाटन खेलको टिकट यसअघि नै बिक्री भइसकेको छ, जसले प्रतियोगिताप्रति दर्शकको उत्साह र आकर्षणलाई स्पष्ट पारेको छ ।

आईसीसीको मान्यता, डीआरएसको प्रवेश

यसपटकको एनपीएल अघिल्ला दुई संस्करणभन्दा फरक र विशेष हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोग तथा विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको स्तर र प्रतिस्पर्धात्मकता बढाउने देखिएको छ ।

आईसीसीको मान्यतासँगै प्रतियोगिताका खेलले आधिकारिक टी–२० मान्यता पाएका छन् । यसबाट प्रतियोगितामा खेलाडीले बनाउने रन र लिने विकेट उनीहरूको आधिकारिक टी–२० करिअरको अभिलेखमा समावेश हुनेछन् । यसलाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान र विश्वसनीयता अभिवृद्धितर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

आईसीसीको मान्यताले सक्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई एनपीएलमा सहभागी गराउन पनि सहज बनाएको छ । यस सिजन फ्रेन्चाइज टोलीले एक एसोसिएट राष्ट्रका खेलाडीसहित अधिकतम आठ विदेशी खेलाडी टोलीमा राख्न सक्ने व्यवस्था गरिएको छ । तर प्लेइङ–११ मा अधिकतम चार विदेशी खेलाडी मात्रै खेलाउन पाइनेछ र कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी समावेश गर्नुपर्नेछ ।

डीआरएसले थप्नेछ खेलमा नयाँ रोमाञ्च

तेस्रो संस्करणको अर्को महत्वपूर्ण आकर्षण डीआरएस प्रविधि हो । यसको प्रयोगले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ, जसले खेललाई थप निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

एलबीडब्लूको निर्णय जाँच्न बल ट्र्याकिङ प्रविधि, ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन तथा ध्वनि प्रविधि प्रयोग गरिनेछ । त्यस्तै रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइड र छक्काको दूरीजस्ता विषयमा पनि भिडियो रिभ्युको सहयोग लिइनेछ ।

प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डीआरएस सञ्चालनको लागत क्यान र आठवटै फ्रेन्चाइज टोलीले संयुक्त रूपमा बेहोर्नेछन् । यसका लागि करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

डीआरएसका कारण खेलको अवधि करिब ३० मिनेट बढ्न सक्ने भएकाले क्यानले खेल तालिकामा पनि सोहीअनुसार समय थप गरेको छ ।

वार्नरदेखि रसेलसम्म, स्टार खेलाडीको जमघट

यसपटकको एनपीएलमा विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाएको छ ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्समा आबद्ध छन् । बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट मैदान उत्रिनेछन् ।

त्यस्तै इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निशम जनकपुर बोल्ट्समा छन् । दक्षिण अफ्रिकाका डेभिड मिलर कर्णाली याक्सबाट खेल्दैछन् भने वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड र फाबियन एलेन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् ।

पाकिस्तानका बलर हसन अली, जिम्बाबेका अलराउन्डर सिकन्दर राजा र अन्य अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले पनि प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा छ ।

यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको सहभागिताले एनपीएललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याउन सहयोग गरेको थियो । यसपटक पनि स्टार खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको प्रचारप्रसार र अन्तर्राष्ट्रिय दर्शकमाझ प्रतियोगिताको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर हिमालयन स्पोर्ट्सको आधिकारिक प्रसारणमा विश्लेषकका रूपमा सहभागी हुनेछन् । पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर इरफान पठानलाई ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध गरेको छ ।

भ्रष्टाचार नियन्त्रणमा कडा निगरानी

प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन यसपटक भ्रष्टाचार तथा म्याच फिक्सिङ नियन्त्रणमा पनि विशेष ध्यान दिइनेछ । आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम तथा टोलीहरूको गतिविधिमा निगरानी राख्ने व्यवस्था गरिएको छ ।

विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्नेछ । साथै, एनपीएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन नदिने व्यवस्था गरिएको छ ।

यी व्यवस्थाले प्रतियोगिताको पारदर्शिता, खेलाडीको आचरण र प्रतिस्पर्धाको विश्वसनीयता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विजेताले पाउने डेढ करोड

तेस्रो संस्करणमा पुरस्कार राशि पनि उल्लेख्य रूपमा बढाइएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

अघिल्लो संस्करणमा विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाएका थिए । यसपटक पुरस्कार रकममा भएको वृद्धिले प्रतियोगिताको व्यावसायिक महत्व र फ्रेन्चाइज क्रिकेटप्रतिको लगानीलाई थप उजागर गरेको छ ।

टेलिभिजन र मोबाइलबाट कहाँ हेर्ने ?

उद्घाटन खेलको टिकट बिक्री भइसकेकाले मैदानमा उपस्थित भएर खेल हेर्न नपाउने दर्शकले टेलिभिजन तथा डिजिटल माध्यमबाट प्रतियोगिताको मजा लिन सक्नेछन् ।

क्यानका अनुसार नेपालमा मोबाइलबाट नेटटीभी र टेलिभिजनमा हिमालयन स्पोर्ट्समार्फत खेल हेर्न सकिनेछ । नेपालबाहिर टेलिभिजनमा स्टार स्पोर्ट्स तथा भारतमा फ्यानकोड एपबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था छ ।

क्यानका सचिव पारस खड्काले आधिकारिक प्रसारण माध्यमबाट खेल हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न दर्शकसँग आग्रह गरेका छन् ।

आईसीसीको मान्यता, अत्याधुनिक प्रविधि, विश्वस्तरीय खेलाडी र बढ्दो पुरस्कार राशिसहित सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । अब सबैको ध्यान त्रिवि क्रिकेट मैदानमा केन्द्रित हुनेछ, जहाँ साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको भिडन्तसँगै नेपाली क्रिकेटको नयाँ उत्सव सुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत