राजनीति

जनताको अपेक्षाअनुसार राजनीतिक चरित्र देखाउन रास्वपा नेता–कार्यकर्तालाई रविको निर्देशन

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

रास्वपा चितवनले आज आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा बोल्दै लामिछानेले पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताएका हुन्।

उनले पार्टीका नेता तथा कार्यकर्ताको गतिविधिलाई समाजले नजिकबाट मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै आलोचनालाई सहज रूपमा स्वीकार गर्न र कमजोरी सुधार्न आग्रह गरे। आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको उनको भनाइ थियो।

“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन”, लामिछानेले भने।

जनताले रास्वपालाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताए। पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्नुपर्नेमा जोड दिँदै उनले बदला लिने भावनाबाट प्रेरित भएर काम नगर्न पनि नेता–कार्यकर्तालाई सचेत गराए।

“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन”, उनले भने, “हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन।”

पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकायलाई आफ्नो नियन्त्रणमा रहेको ठान्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो। जनताले दिएको अभिमत उनीहरूकै अपमान हुने गरी प्रयोग गर्न नहुने बताउँदै उनले पार्टीभित्र एकता कायम राख्न आग्रह गरे।

“हामी यही माटोका मान्छे हौँ। एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ”, उनले भने।

लामिछानेले पार्टीभित्र मतभेद र अन्तरसङ्घर्ष नरहेको दाबी गर्दै सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले सुझाव दिने गरेको स्पष्ट पारे। सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने र पार्टीले सरकारको काममा बाधा–अवरोध नगर्ने उनको भनाइ थियो।

उनले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थामाथि अनावश्यक टिप्पणी नगर्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे। सार्वजनिक संस्थाहरू कमजोर भए देश र लोकतन्त्र दुवै कमजोर हुने उनको धारणा थियो।

“अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन”, उनले भने।

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले भ्रष्टाचारका घटनामा विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए। अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने वा पक्राउ गर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।

भ्रष्टाचार नियन्त्रणको मुद्दा रास्वपाले विगतदेखि नै उठाउँदै आएको स्मरण गराउँदै उनले कानुनी प्रक्रिया पूरा गरेर मात्रै अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने धारणा राखे।

गाउँ सहर संवाददाता

तपाईँको मत