अर्थतन्त्र

शेयरबजारमा धैर्य कहिलेसम्म ?

काठमाडौं । सोमबार शेयरबजार खुल्नासाथ आरोलो लागेको छ । युवराज खतिवडा अर्थमन्त्री नियुक्त हुनासाथ दिएको अभिव्यक्तिले आरालो लागेको पूँजीबजार आज पनि अस्वभाविक घटेको छ । 
आइतबार विराटनगरमा भएको एक कार्यक्रममा खतिवडाले लहडका भरमा शेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका थिए । 

‘हामीले सेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौँ। हस्तक्षेप गरेका छैनौं। तर, बजार घटेको छ,’ मन्त्री खतिवडाले भने। अर्थमन्त्रीले अस्वभाविक रुपमा बढाइएको बजार अहिले सेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट गर्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न सबैलाई आग्रह गरेका थिए । 

‘लहडबाजीमा लगानी गर्नु हुँदैन। बजारमा थप सेयर आउँदैछन्। हाइड्रोले आइपिओ ल्याउँदैछन्। बैंकले पूँजी बढाएका छन्। सेयर थपिएको छ अनि अर्थशास्त्रको सामान्य सिद्धान्त हो आपूर्ति बढ्दा बजार मूल्य घट्छ,’ खतिवडाले भने। सेयर थपिने क्रमले बजार अझ घट्न सक्ने सामान्य सिद्धान्त भएको बताएका थिए ।

उनले शेयर कस्तो चिज हो भन्ने प्रश्न गर्दै भने, ‘अन्तर्राष्ट्रिय बजार त घट्छ। घटबढ हुनुलाई अनौठो मान्न सकिदैन।’ 

यसअघि पनि खतिवडाले सेयर बजारलाई अप्रत्यक्ष रूपमा अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिएपछि ओरालो लागेको सेयर बजार घट्ने क्रम निरन्तर जारी छ । 

अर्थमन्त्रीबाट सेयर बजारसम्बन्धी नकारात्मक टिप्पणी आउनु, देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाउनु र सरकारको पुँजीबजारप्रति स्पष्ट धारणा नआएकोमा लगानीकर्ता रुष्ट छन् । 

नेपालको इतिहासमा २०६४ साललाई सेयर बजारका लागि कालो वर्ष मानिन्छ। त्यतिबेला ११७५ को नेप्से इन्डेक्स एकै पटक २९२ मा झरेको थियो। ब्लु चिप कम्पनी होस् या सामान्य रेटिङ भएका कम्पनी, सबैको सेयर ओरालो लाग्यो। धेरै लगानीकर्ता सडकमा आए। त्यही इतिहास सम्झेर यसपालि पनि त्यस्तै हुने हो कि भन्ने भय बजारमा दोहोरिएको छ । 

सेसन लगातार ओरालो लागेपछि बजारमा अब बियरिस ट्रेन्ड वा बजार नै क्र्यास हुने हो कि भन्ने डर लगानीकर्तामा देखिन थालेको छ । धेरै लगानीकर्ता नाफाभन्दा पनि आफ्नो लगानी सुरक्षित गर्नतिर लागे जस्तो देखिन्छ ।

लगातार ओरालो लागेको बजार थामिएको छैन, थामिने छाँटकाट पनि छैन । कारण के हो कोही कसैले बताएका पनि छैनन् ।
बजार लगातार घटन थालेपछि निराश भएका लगानीकर्तालाई नयाँ सरकारले कुनै विश्वास दिन सकेन। बजारमा हकप्रद शेयरको बाढी लागेको छ । लगानीकर्तालाई त्यसले झन् भार थपेको छ ।

सरकारले शेयर लगानीकर्तालाई विश्वास दिलाएर बजार सुधार गर्न लाग्नुपर्ने देखिएको छ । तर काम भने हुन सकेको छैन ।
सरकारले तत्काल आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गरेर लगानीकर्तालाई तत्काल विश्वास दिलाउनु जरुरी भइसकेको छ ।
त्यसै पनि, व्यक्तिगत वा समूहगत लगानीकर्ताहरुले बजारलाई ठूलो प्रभाव पार्ने क्षमता गुमाइ सकेका छन् ।  टेको लगाउन सक्ने क्षमता पनि ह्रास हुन थलोको  छ।  ।


 

गाउँ सहर संवाददाता

तपाईँको मत