साउने संक्रान्ति : ‘लुताे मात्र हाेइन सामाजिक र राजनीतिक विकृति पनि लैजा है’
- संजीब ढुंगाना
- १ श्रावण बिहीबार, २०७७ | ०८:४०:०० मा प्रकाशित

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।
असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन हो आजको दिन ।
साउने संक्रान्तिको दिन साँझ लुतो फाल्ने प्रचलन छ । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन कतै कतै अझै यथावत छ । तर नयाँ पुस्ता भने यस विषयमा अनभिज्ञ हुन थालेका छन् । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।
आजका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।
असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो । अझै पनि पहाडी तथा धेरैजसाे जिल्लाहरू र उपत्यकाका स्युचाटार, पुरानो नैकाप, गोठाटार, नाङ्लेभारे, मूलपानी, गागलफेदी, गोदावरी, थसीखेल, थानकोट, मच्छेगाउँँ, अनन्त लिङ्गेश्वर, चोभारलगायत क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ अगुल्टो फाल्दै लुतो लैजा भनेर नाङ्लो ठटाएर होहल्ला गर्ने चलन अझै छ ।
आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नले लुतो लगायतका खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ ।
धसिङ्घरे, भलायो, कुकुर डाइनोलाई बालेर धूपधुँवार गर्दै यसको ठूटो आकाशमा फ्याँक्दा लुतोलगायत चर्मरोगका जीवाणु नास हुन्छन्, आयुर्वेदमा यी वनस्पतिको यस्तै महìव उल्लेख छ, यसै लुतो लैजा भनेर नाङ्लो ठटाइएको होइन ।
पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन्। यो पर्व प्रायजसो सबै नेपालीको चाड हो ।
साउने सङ्क्रान्ति सूर्य दक्षिणायण हुँदै जाने भएकाले यो याममा मानिसमा बाथ, पित्त, कफमध्ये बाथ बढ्दै जान्छ र विभिन्न रोग देखापर्छ । यसरी लुतो फाल्दा यस्तो रोग लाग्ला है भनेर सचेत पनि गराउँछ ।
हराउँदै लुताे फ्याँकने परम्परा, नयाँ पुस्ता अनभिज्ञ
नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् ।
लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।
परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।
पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृृति मनाउने गरिएको छ ।
त्यसैगरि, महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।
साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्छ ।

संजीब ढुंगाना
ढुंगाना गाउँ सहर डटकमका संवाददाता हुन् ।
- पूराना स्थापित केहि नेताहरूलाई संसदकाे ढाेका बन्द
- मतदाताकाे प्रश्न : मंसिर ४ गते भोट किन हाल्ने ?
- के पुस्तान्तरणको पक्षमा मतदान गर्ने अवसर बन्ला त आगामी निर्वाचन ?
- कस्तो खानेकुरा खाने र योजना कसरी बनाउने?
- के दलहरु भन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति जनताहरुको आशा बढेको हो ?
- चुनावकाे मुखमा कुरा धेरै भयाे... काम गर्ने कि !
- रिक्सा खुट्टाले होइन पेटबाट चल्छ
- अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर
- के हो चिनीरोग ? जीवनशैलीमा ध्यान दिए सामान्य नत्र खतरनाक !
- नेपालमा हुने १३ औं सागमा खेल्ने खेल र खेलाडीकाे टुङ्गाे, भारत र पाकिस्तानले क्रिकेट नखेल्ने
प्रतिकृया दिनुहोस