राजनीति

सामाजिक सञ्जालमा आफूखुसी मेयरको उम्मेद्वारी घोषणा नगर्न कांग्रेस पोखरा कार्यसमितिको आग्रह

पोखरा । स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी मेयरका लागि उम्मेद्वारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिले आग्रह गरेको छ । पार्टीको गरिमामा आँच नपुगोस् भन्ने तर्फ सजक हुन आग्रह गर्दै महानगर कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोला ‘विशाल’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा आगामि मेयर पदका लागि उम्मेद्वारमा आकांक्षी बढेका छन् । कतिपय कार्यकर्तामार्फत नाम सार्वजनिक गराएका छन् भने कोहीले सामाजिक सञ्जालमार्फत स्वघोषणा गरेका छन् ।

त्यसतर्फ ध्यानाकर्षण गराउँदै महानगर कार्यसमितिले कांग्रेसको विधान २०१७ तथा नवौं संसोधन २०७५ तर्फ कार्यकर्तालाई इंगित गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलाग्दासम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसँग जोडेर कुनै पनि पदको लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेद्वारी घोषणा गर्न गराउन नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ ।’

घोषणा पत्र तयार गर्न माग्यो सुझाव

नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आसन्न स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयार गर्दै गरेको सन्दर्भ जनाउँदै आम नागरिकसहितबाट सुझाव माग गरेको छ । घोषणा पत्र महत्वपूर्ण राजनैतिक दस्तावेज भएकाले कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमि बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले नीति तथा योजना तयार पार्न सहयोग मागेको हो ।

‘पोखरा महानगरका लागि कस्ता नीति तथा योजना तयार पारी कार्यक्रम सञ्चालन गर्दा पोखरा महानगरबासीलाई मानव विकास सूचांकको अग्रणी स्थानमा सूचीकृत गर्न सकिन्छ,’ विज्ञप्तिमार्फत आह्वान गरिएको छ, ‘त्यस्ता योजनाबारे स्थानीय स्तरमा छलफल गरी आवश्यक नीति, योजना तथा कार्यक्रमबारे नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिलाई जानकारी गराइदिनुहुन ।’

गाउँ सहर संवाददाता

तपाईँको मत