दृष्‍टिकोण

बैंकिङ्ग क्षेत्रको अवधारणा, विकास र उपादेयता

बैंक भन्नाले मुद्राको कारोबार गर्ने, पैसा तथा मुल्यवान सामग्रीहरुको संरक्षण गर्ने, निक्षेपको रुपमा जनताको रकम संकलन तथा संरक्षण गर्ने, आवश्यकता परेको बेला भुक्तानी दिने, सापटीको रुपमा कर्जा दिने र अन्य आर्थिक कारोबारसँग सम्बन्धित सहयोग र सोको संरक्षण गर्ने वित्तिय संस्था भन्ने बुझिन्छ । बैंकले रकम निस्कासन, व्यवस्थापन र परिचालन गर्दछ । बैंकिङ्ग व्यवसायको उत्पत्तीको समय यकिन गर्न कठिन देखिन्छ । समग्रमा भन्नुपर्दा समाजको विकास क्रम तथा उद्याेग धन्दाको विकास सँगसँगै बैंकिङ्ग क्षेत्रको विकास भएको पाईन्छ ।

विश्व जगतमा बैंकिङ्ग पद्धतीको विकासलाई हेर्दा यसको उत्पत्ति प्राचिन रोमन सभ्यताको समय भन्दा अगाडि नै भएको पाईन्छ । तर यो संगठित भने थिएन । बैंक शब्दको उत्पक्ति ल्याटिन शब्द बेक्कस फ्रेन्च शब्द बेंक्यु त्यस्तै जर्मन शब्द  बेंक बाट विकसित भएको देखिन्छ तापनि सबैको अर्थ पैसा तथा सोको संरक्षण भन्ने नै बुझिन्छ । इटालियन भाषा बैंको बाट अपभ्रंस भइ बैंक बनेको हो, जसको अर्थ काठको बेन्च भन्ने बुझिन्छ । प्राचिन कालमा इटालीको व्यपारिक गृहले बैंक सम्बन्धि कार्य गरेको पाईन्छ । विश्व बैंकका अनुसार बैंक भनेको वित्तिय संस्थाहरु हुन् जसले छिटो वा माग गरेको समयमा पुन भुक्तानी गर्ने गरी कोषलाई निक्षेपको रुपमा जम्मा गर्दछन् ।

त्यस्तै नेपाली श्ब्दकोष अनुसार ब्याज दिएर रुपियाँ पैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन, तेजारथी आदी आर्थिक कारोबार गर्ने, बाणिज्य सम्बन्धि कारोबार गर्ने वा गैरसरकारी संस्थालाई ब्याङ्क भनिन्छ । बैंक भन्नाले वित्तिय मध्यस्थकर्ता हो जसले सर्वसाधरणबाट बचत संकलन गरि अर्थतन्त्रको विकासको लागी परिचालन गर्दछ जुन कार्य गर्न इजाजत प्राप्त गर्दछ र एजेन्सी सम्बन्धि कार्य पनि गर्दछ । आर.एस.शेयर भन्नुहन्छ ः बैंक एउटा संस्था हो जसले ऋण (बैंक निक्षेप) लाई अन्य व्यक्तिहरुको ऋणको पारस्परिक भुक्तानीको लागी व्यक्तिगत रुपमा स्वीकार गरिन्छ ।

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ अनुसार बैंक भन्नाले 'क' वर्गको इजाजतपत्र प्राप्त गरी सो बमोजिम बैंकिङ्ग तथा वित्तिय कारोबार गर्न स्थापना भएको संगठिन संस्थालाई सम्झनुपर्दछ र सो शब्दले नेपालमा रहेका विदेशी बैंकको शाखा कार्यालय, नेपाल बाहिर खोलेका शाखा कार्यालय तथा यो ऐन अन्तर्गत 'घ' वर्गको इजाजत पत्र प्राप्त गरी सो बमाजिम कार्य गर्न र पुर्वाधार विकास बैंक र सोका शाखा कार्यालयलाई समेत जनाउँदछ । बैंक भन्नाले भन्नाले कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनको लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउँछ ।

विश्वको बैंकिङ्ग विकास 

पैसा र मुद्राको महत्वले नै बैंक अस्तित्वमा आएको हो । मानव विकासको प्रारम्भिक रचणमा बारीमा अन्न बढि भएको छ भने उसले अरुसँग नुन, तेल, कपडा लिन अन्न साट्ने गर्दथे । धेरै वर्षसम्म यस्तै साटासाटको विनिमय प्रणाली संसारमा चलेको पाईन्छ । हाम्रो देश नेपालको हिमालि क्षेत्रमा पनि यस्तै चलन थियो भन्ने कुरा क्याराभान चलचित्रले पनि उजागर गरेको पाईन्छ । यी र यस्तै झन्झटबाट मुक्ति पाउन बैंकको विकास भएको हुनु पर्दछ । सुनार र साहु महाजनको उदय यस्तै बैंक प्रणालीको एक रुप हो । यी साहु महाजनले समान किन्थे र क्त्यो वस्तुको मुल्यांकन गरि अंकित पर्चा दिने गर्दथे । यो नै बैंक र बैंक नोटको सुरुआत हो ।

आधुनिक कालको बैंकिङ्गको सुरुआत १४ औं शताब्दीमा इटालीको फ्लोरेन्स, लक्का, शियेना र भेनिस जस्ता ठुला शहरहरुमा भएको मानिन्छ । अहिलेसम्म अस्तित्वमा रहेको संसारको सबैंभन्दा पुरानो बैंक इटालीको मोन्ते डि पाश्चिदी सिएना हो । सन १९७२ मा स्थापीत यो बैंकको मुख्यालय इटाली हो सियना सहरमा छ । सुरुका समयमा बैंकहरुले सुन राखेर जमानी दिने काम गर्दथे जुन बैंक नोटको रुपमा परिणत भयो । हालको बैंकिङ्ग प्रणालीको विकास प्रचिनकाल देखी नै भएको पाईन्छ । सन १९९६ मा इटालीको भेनिस सहरमा स्थापना भएका बैंक अफ भेनिस पनिपुरानो बैंकको रुपमा चिनिन्छ ।

विश्वमा आधुनिक बैंकिङ्ग जगतको विकास सन १६१९ मा जर्मन तथा सन १६९४ मावैक अफ इंगलैण्डको स्थापना र सन १७९१ म अमेरिकामा बैंक अफ युनाईटेड स्टेटको स्थापना भएको पाइन्छ । भारतको लाई हेर्दा १८ औं शताब्दी अर्थात सन १७७० मा आधुनिक बैंकको रुपमा बैंक अफ हिन्दुस्थानको स्थापना भएको पाइन्छ । सन १८९७ मा आधुनिक बैंकको रुपमा इम्पेरियल बैंक अफ चाइनाबाट सुरु भएको पाइन्छ । अहिले संसारमा प्रत्येक देशमा बैंक छन् । बैंकहरुले आजभोलि हरेक मानिस, उद्याेगधन्दा, बाणिज्य व्यापार, कृषि र सरकार लगायतलाई सेवा दिइरहेको पाइन्छ । कुनै बखत पैसा राख्न वा झिक्न लाईन लाग्नु पर्ने थियो भने आजभोली आधुनिक बैंकिङ्गको रुपमा मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु मेसिन लगायतका सुविधाले बैंकिङ्ग क्षेत्रलाई नेपाल लगायत विश्वभरि डिजिटल बैंकिङ्गले निकै सुविधा पुर्याएको छ । विश्वका ठुला बैंकिङ्ग संकटहरु अमेरिकाबाट नै उब्जने गरेको पाईन्छ । सन १९३० देखी १९४० को आर्थिक मन्दिले धेरै बैंकहरुमा संकट ल्याएको थियो त्यस्तै हाल कोभिड पछिको विश्व आर्थिक मन्दिले अमेरिकाको सिलीकन बैंक लगायतमा समेत संकट देखिएको घटना ताजा नै छ । 

नेपालको बैंकिङ्ग विकास 

नेपालमा बैंकिङ्ग विकासलाई हेर्दा रोचक तथ्य पाईन्छ । वस्तुकला, मुर्तिकला र काष्ठकलाको व्यवसायिक विकाससँग सँगै बैंकिङ्ग प्रथाको सुरुवात भएको पाईन्छ । नेपालमा प्राचिनकालदेखि नै व्यापारी, साहुमहाजन, स्थानीय ऋणदाता तथा सुनारले निक्षेप लिने र ऋण दिने गरेको पाईन्छ । प्राचिनकालमा वस्तु विनिमयको सँग सँगै धातुका मुद्राको प्रचलन भएको पाइन्छ ता पनि संस्थागत विकास भने राणा प्रधानमन्त्री रणोद्धीप सिंह ( १९३३ देखि १९४२ ) को पालामा तेजारथ अड्डाको स्थापना पश्चात भएको पाईन्छ । यो संस्थाले वार्षिक ५ प्रतिशतमा सर्वसाधरणलाई सुन चाँदी तथा बहुमूल्य गहना धितो लिएर ऋण दिने गरेको भएता पनि सरकारी कर्मचारी तथा पहुँचवाला व्यक्तिले मात्र यस्तो सुविधा पाउने अवस्था थियो ।

विकासकै क्रममा नेपालमा संस्थागत बैंकिङ्ग विकासको आवश्यकता महसुस भएसँगै वि.स. १९९४ साल कार्तिक ३० गते आधुनिक बाणिज्य बैंकको रुपमा नेपाल बैंकको स्थापना भयो जसको उद्घाटन तत्कालीन राजा त्रिभुवनबाट भएको थियो । पछि नेपालमा बैंकिङ्ग विकासको अवस्था सृजना भयो । आधुनिक बैंकको रुपमा नेपाल बैंकको स्थापना पश्चात तेजारथ अड्डाले गर्दै आएको कार्य यसमा गाभियो । वि.स. २००२ आश्विन १ गते बाट नेपाली नोटको निस्कासनसमेत भयो । त्यो समयमा नेपालमा आफ्नै बैंक नोट थिएन । महेन्द्र मल्लको पालादेखि चलेको धातुका सिक्का, नेपालमा टक्सारी हुन्थ्यो तर भारतका ब्रिटिस शासकबाट जारी गरिएको मुद्रा जसलाई कम्पनी रुपियाँ भनिने गरिन्थ्यो । धेरै पैसा हुने दरबारिया, गुरुज्यू जस्ताहरुको पैसा भारतको कलकत्ता र देहरादुन जस्ता शहरका बैंकमा राखिएको थियो । त्यसबेला सम्म सबै मौद्रिक कारोबारहरु निजी डिलर तथा व्यापारिक केन्द्रहरुबाट हुने गर्दथ्यो । राज्यका हर्ताकर्ता तत्कालीन प्रधानमन्त्री जुद्धशम्सेर थिए र तिनै राणा खलक र दरबारियाका पैसा तह लगाउन नै यस बैंक खोलिएको थियो भन्ने गरिन्छ । 

देशमा एक केन्द्रिय बैंकको महसुस पश्चात वि.स. २०१३ वैशाख १४ गते नेपाल राष्ट्रबैंक ऐन २०१२ अन्र्तगत नेपाल राष्ट्र बैंकको स्थापना भयो । राजा महेन्द्रको पालामा स्थापित यो बैंकको स्थापना दुरदर्शी राजनीतिज्ञ टंकप्रसाद आर्चायको ठूलो योगदान थियो । भारतको पूर्ण नियन्त्रणमा रहेको मौद्रिक प्रणालीबाट आफनो स्वतन्त्रता गुम्ने सोचाईले र मौद्रिक व्यवस्था, बैंक नोटको छपाई, भारतिय नोटको नेपालमा चलन रोक्ने उद्देश्यका साथ केन्द्रिय बैंकको स्थापना गरिएको थियो । नेपालमा औद्याेगिक विकासमा सहयोग गर्नको लागी वि.स. २०१६ साल आषाढ १ गते औद्याेगिक विकास निगमको स्थापना भयो । देशमा बाणिज्य क्षेत्र लगायतको विकासमा टेवा दिनका लागी वि.स. २०२२ साल माघ १० गते राष्ट्रिय बाणिज्य बैंकको स्थापना भएको थियो । देशमा कृषि क्षेत्रको विकासमा सहयोग गर्नका लागी वि.स. २०२४ माघ ७ गते कृषि विकास बैंक लि. को स्थापना भयो । वि.सं २०३० साल तिर तत्कालिन अर्थमन्त्री स्वर्गिय डा. यादव प्रसाद पन्तको पालामा ३० हजार जनसंख्या भएको स्थानमा एक वाणिज्य बैंकको शाखा खोल्ने नीति समेत आएको थियो । 

यस पश्चात सरकारको स्वामित्वमा रहेको बैंक तथा वित्तिय संस्थाहरुले एकातर्फ जनताको आशा र अपेक्षा अनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको र अर्कोतर्फ घाटामा संचालन हुँदा सरकारलाई बढि व्ययभार थपिन गएको देखिन्छ । यसलाई कम गरी सरकारको स्वामित्वका बैंकलाई निजीकरण गर्ने र प्रतिस्पर्धी तथा प्रभावकारी बनाउनको लागी नेपालले अपनाएको खुला अर्थतन्त्रको उपयोग गर्दै संयुक्त लगानीको बैंकको रुपमा नेपाल अरब बैंक लि. को मिति २०४१ आषाढ २९ गते स्थापना भएको थियो । यस बैंकमा दुवई बैंक लि. को ५० प्रतिशत र नेपालका अन्य बैंकहरुको २० प्रतिशत तथा सर्वसाधरणको ३० प्रतिशत लगानी रहेको छ ।

नेपालमा निजी क्षेत्रको बैंकहरु भित्राउनको मुख्य कारणमा एकातर्फ नेपाल आर्थिक उदारीकरणमार्फत विश्व बजारमा प्रवेश गरिसकेको र वैदेशिक लगानीलाई भित्र्याउने तरखरमा थियो भने अर्कोतर्फ स्वदेशका सरकारको स्वामित्वमा घाटामा चलेका बैंकहरुको प्रतिश्पर्धात्मक क्षमताको विकास गरि सुधार गर्नु थियो तर विंस. २०५८ सम्म पुग्दा पनि सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तिय संस्थाहरुको नाफा र उत्पादकत्व बढ्ला भन्दा झन् कमजोर हुँदै गयो र कर्मचारी भर्तिकेन्द्रको रुपमा विकासित हुँदै गयो एकातर्फ भने अर्कोतर्फ लगानी गरिएका कर्जा असुल हुन नसकि बैंकको भाखा नाघेको कर्जा दिन प्रतिदिन बढ्दै गई करिब ६२ प्रतिशत भन्दा बढि भयो । तत्पश्चात विशेषत सरकारको स्वामित्वमा रहेका बैंकहरुको पुनसंरचना र सुधारको लागि वि.स. नेपालमा वित्तिय क्षेत्रको सुधार वि.स. २०५८ देखी क्रमश सुरु भई २०६९ सम्म औपचारिक रुपमा सकिएता पनि परोक्ष वा अपरोक्ष रुपमा हालसम्म पनि सुधारको प्रक्रिया जारी छ । तथापी नेपालमा आर्थिक क्षेत्र सुधारको क्रम वि.स. २०४१ देखी सरु भयो फलस्वरुप सोही सालमा विदेशी र नेपालीहरुको संयक्त लगानीमा नेपाल अरब बैंक लि. को स्थापना भयो । सुरुमा वित्तिय क्षेत्र सुधारको उद्देश्यले नेपाल बैंक लि., राष्ट्रिय बाणिज्य बैंक लि. कृषि विकास बैंक लि. र नेपाल औद्याेगिक विकास बैंक लि. तथा नेपाल राष्ट्र बैंक समेतको पुनसंरचना गरि आर्थिक उदारीकरणलाई अगाडि बढाउने थियो । आर्थिक उदारीकरणबाट एकातर्फ निजी क्षेत्रमा लगानीको संभावना बढेको छ भने अर्कोतर्फ वित्तिय क्षेत्रमा आई परेका जोखिमको न्युनीकरण भइरहेको छ ।

नेपालमा वित्तिय क्षेत्र सुधारको मूल आशय भनेको सरकारको स्वामित्वमा रहेका नेपाल राष्ट्र बैंक लगायत बैंकहरूमा प्रतिस्पर्धा, वित्तिय अनुसाशन, पारदर्शिता र संस्थागत सुशासन र जनउत्तरदायी भावनामा सधार ल्याई सबल र सक्षम जनताको बैंक बनाउनु हो । वित्तिय क्षेत्रमा उच्चतम प्रविधिको विकास गर्दै छिटो छरितो रुपमा ग्राहकलाई सेवा प्रवाह गर्ने सरकारी तथा नीजि क्षेत्रको बैंकिङ्ग कार्यमा सुधार कार्यक्रम कोशेढङ्गा सावित भएको छ । तसर्थ यो कार्यक्रम वित्तिय क्षेत्रको तथा खास गरि भन्नु पर्दा सरकारको स्वामित्वमा रहेको बैंकहरुको लागी निरन्तर प्रक्रिया हो भन्नुमा अत्युक्ति नहोला । वित्तिय क्षेत्रको सुधार पश्चात हाल बैंकिङ्ग क्षेत्रमा प्रविधिको विकास, जनशक्तिको साइज घटेको, मर्जर, विग मर्र्जर र प्राप्ति जस्ता कार्यले गति पाएको, वित्तीय साक्षरता बढेको, वित्तीय समावेशिता र वित्तिय पहुँच समेतमा उल्लेखनीय विकास भएको छ । विभिन्न बैंकिङ्ग नियम कानुनमा सुधार, बैंकिङ्ग संरचनामा परिवर्तन, एक नेपाली एक खाताको अभियान, वासेल १, २, ३ को लागू, ब्याज दर निर्धारणमा आधार दरको कार्यान्वयन साईपाल बाहेक ७५२ स्थानीय निकायमा बैंक शाखाको विस्तार आदिले नेपालमा बैंकिङ्ग क्षेत्रमा उल्लेख्य सुधार भएता पनि जनअपेक्षित सेवामा भने बैंकिङ्ग क्षेत्र चुकेको देखिन्छ । 

हाल नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ फागुन मसान्तमा १२१ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । 

कुनै पनि क्षेत्रको सुधार स्थिर हुँदैन यो गतिशिल प्रक्रिया हो । यो परिवर्तित वातावरणमा आधारित हुन्छ जनताका चाहना र इच्छा आंकाक्षा विश्वव्यापीकरणका कारण परिवर्तित छन् । नयाँ प्रविधिको विकास दिन प्रतिदिन विकसित हँदैछ तसर्थ वित्तीय क्षेत्र सुधार एक निरन्तर प्रक्रिया हो । हालसम्म पनि नेपालमा सरकारको स्वामित्वमा रहेका नेपाल राष्ट्र बैंक लगायत अन्य वाणिज्य बैंकहरुले जनताको अपेक्षा अनरुपको सेवा तथा वस्तु उत्पादन गर्न र अपेक्षाकृत छिटोछरितो र भरपर्दो सेवा दिन सकेको अवस्था छैन । कमजोर पुँजी, नियमित अनुगमन, संस्थागत सुशासन, कर्मचारीको कार्यदक्षता वृद्धि, तालिम, प्रतिकर्मचारी उत्पादकत्व, कार्य क्षमता, संस्थागत संस्कृति, संस्थागत र संगठनात्मक संरचना, कर्मचारी युनियनका गतिविधी लगायतमा धेरै सुधार हुन बाँकी रहेको कारण अपेक्षाकृत नाफा तथा उत्पादकत्व हुन नसकेको कारण सरकारको स्वामित्वका बैंकहरुमा अझै वित्तिय क्षेत्र सधार जारी रहनु पर्दछ । अपेक्षाकृत सुधार हुन सकेन भने एकातर्फ सर्वसाधरणको खर्बाैँ निक्षेप धरापमा पर्दछ भने अर्कोतर्फ लगानी योग्य रकमको अभाव, कर्जा अशलीमा कमी, जनविश्वासमा कमी र प्रयाप्त बजार समेतको अभावले भविष्यमा बैंकहरुलाई ठूलो नोक्सानीतर्फ लैजाने निश्चित छ भन्ने कुरा हालै देखिएको निक्षेपको अभावले गर्दा लगानी योग्य रकमको अभाव भइ हाइड्रोपावर लगायतका ठूला परियोजना समेत धरापमा पर्ने संभावनाको अवस्था सबैमा विदितै छ । तसर्थ वित्तिय क्षेत्र सुधारमा विदेशी दातृ निकाय समेतको निरन्तर सहयोगको खाँचो देखिन्छ । (लेखक बैंक तथा वित्तीय क्षेत्रका विज्ञ हुन् ।) 
 

डा. दिबाकर बशिष्ठ

तपाईँको मत