खेल

१ रनकाे महत्व : हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडाैं । दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।

अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।

अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।

अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुग्यो ।

नेपालका दुवै ओपनरले राम्रो सुरुवात दिलाएका थिए । तर तब्रेज शम्शीको आठौ ओभरमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । सो ओभरको दोस्रो बलमा रिभर्स स्विप खेल्ने क्रमममा कुशल भुर्तेल बोल्ड भए । उनले २१ बलमा १३ रन बनाए । चौथो बलमा शम्शीले कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड नै गराए ।

चौथो विकेटका लागि भने ओपनर आशिफ शेख र अनिल साह मिलेर ५० रनको साझेदारी गरेका थिए । सो साझेदारी १४औं ओभरमा दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रमले तोडे । तेस्रो विकेटका रुपमा अनिल २४ बलम ३ चौका र १ छक्का सहित २७ रन बनाएर क्याच आउट भएका थिए ।

दक्षिण अफ्रिकाका लागि शम्शीले ४ ओभरमा १९ रन मात्र दिएर ४ विकेट लिए । मार्क्रमले २ ओभरमा ८ रन दिएर १ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टको किंग्सटाउनमा उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनायो ।

नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो । सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ६ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेलले लिए भने दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।

कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्र सिंह ऐरीलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए । चौथो ओभरमा दीपेन्द्रले क्विन्टन डीककलाई कट एण्ड बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता दिलाए । डीककले ११ बल खेल्दै १० रन बनाए ।

दोस्रो विकेटका लागि नेपालले १२औं ओभर कुर्नु परेको थियो । तर नेपालले दबाब भने लगातार बनाइरहेको थियो ।

नेपालका लागि दोस्रो विकेट कुशल भुर्तेलले दिलाएका थिए । दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रम २२ बलमा १५ रन बनाएर इन्साइड एज सहित बोल्ड भएका थिए ।

१४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । हेनरिक क्लासेन ५ बलमा ३ रन बनाएर करन केसीद्वारा क्याच आउट भएका थिए ।

१६औं ओभरमा दीपेन्द्रले नेपालका लागि चौथो विकेट लिए । क्रिजमा डटेर रहेका ओपनिङ ब्याटर रिजा हेन्ड्रीक्सलाई उनले कट एण्ड बोल्ड नै गराएका थिए । हेन्ड्रीक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

अन्तिम ओभरमा विष्फोटक ब्याटिङका लागि चिनिएका डेविड मिलरलाई पनि दीपेन्द्रले आउट गरे । १८औं ओभरको तेस्रो बलमा मिलर १० बलमा ७ रन बनाएको अवस्थामा सन्दिप लामिछाने क्याच आउट भए ।

अन्तिम ओभरमा कुशल भुर्तेलले मार्को यानसनलाई लङ अनमा १ रन बनाएको अवस्थामा क्याच आउट गराए । अन्तिम बलमा कागीशो रबाडालाई उनले स्तम्प आउट गराए।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चिएर ३ विकेट लिए ।

सन्दिप लामिछानेले ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए । अविनाश बोहोराले ३ ओभरमा १९ रन मात्र दिए । कुशल मल्ले २ ओभरमा १७ रन दिए । एक ओभर मात्र बलिङ गरेका करन केसीले ९ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १ मेडन सहित ६ रन दिए।

गाउँ सहर संवाददाता

तपाईँको मत