गाउँ सहर

बाढीले बल्खुमा एक जनाको मृत्यु, विभिन्न स्थानबाट २४ जनाको उद्धार

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।

बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।

सशस्त्र प्रहरीले बाढी र डुबानका कारण जोखिममा परेका २४ जनालाई ललितपुरका विभिन्न स्थानबाट प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले बागमती करिडोर लगायतका स्थानबाट ३ बालबालिका, ८ महिला र १३ पुरुष गरी २४ जनाको उद्धार गरेको हो ।

प्रहरीका अनुसार ललितपुरको यूएन पार्कबाट एक पुरुष र एक महिला गरी २ जना, सुन्दरीघाटबाट ४ पुरुष र ४ महिला गरी ८ जना, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका-७ चागाथलीबाट २ बालक, २ महिला र ३ पुरुष गरी ७ जना, ललितपुरकै सानेपास्थित राम मन्दिर नजिकबाट १ महिला, १ बालक र ४ जना पुरुष गरी ६ जनाको उद्धार गरेको छ ।

सानेपा राम मन्दिर नजिकबाट खसी बाख्राहरुको समेत प्रहरीले उद्धार गरेको थियो ।

रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुर्‍याएको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो ।

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो । अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्याल्य, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।

इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

काठमाडौंको बाफल क्षेत्रमा पनि डुबान भएको छ । बाफलस्थित ज्ञानोदय स्कुलभित्र भल पसेपछि आज बिदा दिइएको छ ।

काठमाडौंको धोबिखोला, चाबहिल, कपन क्षेत्रमा बाढीको सतह सतर्कताको तहसम्म पुगेको थियाे । त्यसैले खाेला किनारका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत् अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत